ad ad

राजनीति


ओली–देउवा–दाहाल ५–१० दिन लामो विदेश भ्रमण गर्छन्, मोदी–सी २–४ दिनमै सक्छन्

ओली–देउवा–दाहाल ५–१० दिन लामो विदेश भ्रमण गर्छन्, मोदी–सी २–४ दिनमै सक्छन्

अमेरिकामा एक जना मानार्थ नेपाली महावाणिज्यदूतको घरमा प्रधानमन्त्री केपी शर्मा


रामकुमार डिसी
असोज १५, २०८१ मंगलबार ९:७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघका लागि १० दिन लामो अमेरिका भ्रमण सकेर सोमबार नेपाल फर्किएका छन्। ओली न्युयोर्कमा रहँदा नेपालमा भीषण बाढी–पहिरोका कारण ठूलो जन–धनको क्षति भइरहेको थियो।

देश ठूलो विपदमा पर्दा समेत प्रधानमन्त्री ओलीले आफ्नो पूर्वनिर्धारित भ्रमण तालिकामा कुनै कटौती गर्न आवश्यक ठानेनन्। यद्यपि, उनी अमेरिका जानुअघि नै ठूलो वर्षा र क्षतिको पूर्वानुमान सार्वजनिक भइसकेको थियो। 

१० दिन लामो अमेरिका बसाइमा ओलीले संयुक्त राष्ट्रसंघको महासभा, राष्ट्रसंघले नै आयोजना गरेको ‘समिट अफ द फ्युचर’मा सम्बोधन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका समकक्षी नेताहरूसँग भेटघाट मुख्य थिए। 

कोलम्बिया र हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सम्बोधन, सन् २००१ को सेप्टेम्बर ११ को हमलाको सम्झनामा निर्मित स्मारक केन्द्र र संग्रहालयमा घुमघाम जस्ता झिनामसिना कार्यक्रममा पनि उनले समय बिताए। 

विपद्का बेला पनि भ्रमण छोट्याएर फर्किनुको साटो झिनामसिना कार्यक्रममा अल्झिएर बसेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ। परराष्ट्र मामिलाकी जानकार इन्द्र अधिकारी त्यस्तो आलोचनालाई स्वाभाविक मान्छिन्।

‘यस्तो संकटका बेलामा कुनै पनि अर्को देशको प्रधानमन्त्री भएको भए त्यही दिन स्वदेश फर्किन्थे,’ उनी भन्छिन्।

यद्यपि, विदेश भ्रमणमा लामो समय बिताउने ओली एक्लो प्रधानमन्त्री भने होइनन्। नेपालका अधिकांश प्रधानमन्त्री, मन्त्रीहरूले प्रयोजनहीन लामो समयको भ्रमण तालिका बनाउँछन्। 

ओलीअघि प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यस्तै लामो अवधिको विदेश भ्रमण गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभा र चीनको समेत एकैपटक भ्रमण गरेका प्रचण्डले अघिल्लो वर्ष लगातार १५ दिन देशबाहिर बिताएका थिए। 

७८ औँ महासभाका लागि भदौ ३० गते अमेरिका प्रस्थान गरेका प्रचण्ड त्यहाँ ५ दिन बिताएर असोज ५ गते न्युयोर्कबाट १९औं एसियाली खेलकुदको उद्घाटन समारोह चलिरहेको चीनको हाङ्जाउ प्रस्थान गरेका थिए। 

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङ्जाउमै खेलकुद समारोहको उद्घाटन हुनुअघि भेटघाट गरेका प्रचण्डले त्यसको एक दिनपछि बेइजिङमा प्रधानमन्त्री समक्षी ली छ्याङसँग भेटघाट गरेका थिए। त्यसपछिका ६ दिन भिनामसिना कार्यक्रममा बिताएर प्रचण्ड असोज १३ गते नेपाल फर्किएका थिए। 

पाँचौँपटक देशको प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले पनि लामो विदेश भ्रमण गर्ने गरेका छन्। पछिल्लोपटक २०७८ फागुन २८ मा प्रधानमन्त्री बनेका देउवाले त्यसको २ महिनापछि दक्षिणी छिमेकी भारतको भ्रमण गरेका थिए। त्योबेला भ्रमणको अवधि ३ दिनको मात्रै भए पनि देउवाले त्यसअघि भने भारतको भ्रमणमा १० दिनसम्म बिताएका छन्। 

पहिलो पटक २०५२ मा प्रधानमन्त्री हुँदा उनले १० दिन लामो भारत भ्रमण गरेका थिए। तत्कालीन नेकपा माओवादीका ४० बुँदे मागलाई बेवास्ता गर्दै देउवा भारत गएका थिए। उनी भारतमै रहेका बेला माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्धको सुरुवात गरेका थिए। 

दोस्रोपटक उनले २०५८ चैतमा ५ दिन लामो भारत भ्रमण गरेका थिए। ०६१ भदौ मा पनि देउवाले ५ दिनकै भ्रमण गरेका थिए। २०७४ मा उनले गरेको भारत भ्रमण पनि ५ दिनकै थियो। 

महत्त्वहीन कार्यक्रममा समयको बर्बादी
ओली नै २०७५ मा चीन भ्रमणमा जाँदा ६ दिने भ्रमण अवधिमा मुख्य भेटघाटपछि झिनामसिना कार्यक्रममा समय बिताएका थिए। 

पर्यटन प्रवर्द्धनका लागि भन्दै बेइजिङ खेलकुद विश्वविद्यालयमा एउटा कार्यक्रमको शुभारम्भ र चाइनिज एकेडेमी अफ गभर्नेन्सले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरेका थिए। नेपालसँग सीमा जोडिएको क्षेत्र तिब्बतको भ्रमण गरेर पनि उनले समय बिताएका थिए। 

चीनमा १० दिने र भारतमा ४ दिने भ्रमणका लागि गएका प्रचण्डले पनि दुवै देशमा त्यस्तै हल्काफुल्का कार्यक्रममा समय बिताएका थिए। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटपछि नेपाल फर्किन सक्ने स्थितिमा पनि प्रचण्डले छोङछिङमा रहेको कृषि फार्म, हुवावेको कार्यालय भ्रमण र मानसरोवरको भ्रमणमा समय बिताएका थिए। 

त्यस्तै २०८० जेठ १७ गते भारत भ्रमणमा गएका प्रचण्ड समकक्षी नरेन्द्र मोदीसँग भेट गरेपछि ससाना कार्यक्रमा अल्झिएका थिए। भ्रमणको तेस्रो दिन उनी मध्यप्रदेशको उज्जैन र इन्दौर घुमघाम गरेका थिए। चौथो दिन पनि इन्दौरमै बिताएका उनले फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिन बिताएका थिए। 

देउवा पनि भारत भ्रमणमा जाँदा नेपालका लागि निकै परिचित भएको र उनी प्रधानमन्त्री नहुँदा पनि गइरहेको ठाउँ बनारसको भ्रमणमा निस्केर समय बिताउने गरेका छन्। 

परराष्ट्र मामिलाकी जानकार अधिकारी प्राथमिकता बिनाका काममै नेताहरूले समय फाल्ने गरेको बताउँछिन्। 

‘सरकारको संयन्त्रले गृहकार्य गरेर सबै कुरा ठिक्क पार्ने र उनीहरूले खाली त्यसलाई औपचारिकता दिने तथा सम्बन्ध नवीकरणका लागि केही भेटघाट गर्दा समय धेरै लाग्दैन,’ उनको भनाइ छ, ‘तर, हाम्रा नेताहरू भ्रमणका प्राथमिकता निर्धारण नगर्ने र जनतालाई देखाउनका लागि मात्रै मुद्दालाई उठाउने प्रवृत्तिबाट अझै पनि सुध्रिन सकेनन्।’

छरितो भ्रमण गर्छन् मोदी र सी
नेपालको दुवैतिर विशाल छिमेकी छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङ विश्वमै धेरै विदेश भ्रमण र भेटघाट गर्ने नेताहरूमध्ये पर्छन्। 

नेपालको भन्दा कैयौं गुणा बढी कूटनीतिक भेटघाटमा सरिक हुने उनीहरूले गर्ने विदेश भ्रमण भने छिटो, छरितो र प्रभावकारी हुने गर्दछ। 

सीले अधिकांश देशमा दुई दिने भ्रमण गर्ने गरेका छन्। एकैपटक धेरै देशको भ्रमणमा निस्कँदा पनि १०–१२ दिन भन्दा लामो भ्रमण हुने गरेको छैन। 

चिनियाँ राष्ट्रपति सीले यो वर्ष फ्रान्स, सर्बिया, हंगेरी, कजाकिस्तान र ताजिकिस्तान भ्रमण गरेका छन्। तर, ती कुनै पनि देशमा उनले २ दिनभन्दा लामो समय बिताएका छैनन्। 

बहुपक्षीय सम्मेलनहरूमा पनि सीले २–४ दिनभन्दा बढी बिताउँदैनन्। ब्रिक्स, जी–२० जस्ता सम्मेलनमा पनि प्रायः २ दिन मात्रै खर्चिने गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण प्रवृत्ति पनि सीसँग मिल्दोजुल्दो नै छ। उनले पनि अधिकांश देशमा २ दिनको भ्रमण गर्ने गरेका छन्। 

मोदीले यो वर्ष यूएई, कतार, भुटान, इटली, रुस, अस्ट्रिया, पोल्यान्ड, युक्रेन, ब्रुनाइ र सिंगापुर भ्रमण गरे। उनले पनि ती सबै देशमा २ दिने भ्रमण मात्रै गरे। 

यसपटक क्वाड बैठक र संयुक्त राष्ट्रसंघको फ्युचर समिटका लागि अमेरिका गएका मोदी ३ दिनमै भारत फर्किए। मोदीले पनि बहुपक्षीय सम्मेलनहरूमा २–४ दिनको मात्रै भ्रमण गर्ने गरेका छन्। 

उनले प्रायः क्वाडको सम्मेलनमा १ दिन र ब्रिक्स, जी–२०, बिमस्टेक, सार्क जस्ता सम्मेलनमा २ दिन मात्रै बिताउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .