ad ad

राजनीति


ओलीको अर्को ‘कन्स्पिरेसी थ्योरी’, भने– आफ्नैले वीरेन्द्रको वंश विनाश गरेर दीपेन्द्रलाई दोष थोपरिदिए

ओलीको अर्को ‘कन्स्पिरेसी थ्योरी’, भने– आफ्नैले वीरेन्द्रको वंश विनाश गरेर दीपेन्द्रलाई दोष थोपरिदिए

नेपालखबर
साउन १४, २०८० आइतबार २२:३, काठमाडौँ

दसौँ महाधिवेशनपछि पहिलो पटक २०७८ मंसिर अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले एउटा नयाँ निकाय बनाएर त्यसको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुम्पियो। वरिष्ठ उपाध्यक्ष पोखरेल इञ्चार्ज रहने गरी निर्माण गरिएको नयाँ निकायको नाम थियो– नीति अनुसन्धान प्रतिष्ठान। 

पक्कै पनि गम्भीर विषयमा अनुसन्धान गर्ने र पार्टीको धारणा तय गर्ने योजनास्वरुप नयाँ प्रतिष्ठान निर्माण गरिएको हो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीमा पछिल्लो समय भने गम्भीर विषयमा अनुसन्धान त परै जाओस्, सामान्य अध्ययन र बुझबुझारथ समेत नगरी हावादारी अभिव्यक्ति दिने प्रवृत्ति बढ्दै गएको छ। 

फागुन (२०७९) यताका ६ महिनामा ओलीले तीन गम्भीर विषयमा तथ्य र प्रमाणविनाको अभिव्यक्ति दिएका छन्। विषयको गम्भीरता र वास्तविकता नबुझी दिइएका अभिव्यक्तिका कारण उनी थप हलुको बन्दै गएका छन्। अध्यक्ष ओलीका विवादास्पद अभिव्यक्तिका कारण पार्टीपंक्ति पनि प्रतिरक्षात्मक बन्दै गएको छ।

बौद्ध कलेजदेखि ‘सुन तस्करी’ सम्म झुटैझुट 
कम्बोडियाको विवादास्पद निर्वाचनको पर्यवेक्षण गरी काठमाडौँ फर्कने क्रममा ८ साउन राति उनले सुन तस्करी प्रकरणमा आफूलाई समेत मुछेर एउटा दैनिक पत्रिकाले आफ्नो तस्बिर प्रकाशित गरेको आरोप लगाएका थिए।  

सुन तस्करीमा विवादास्पद व्यापारी दीपक मल्होत्राको हात हुनसक्ने सम्भावना व्यक्त गर्दै सो दैनिकले ४ साउनको अंकमा मल्होत्राको तस्बिर प्रकाशित गरेको थियो। तर, ओली आफ्नो तस्बिर छापेको भन्दै पत्रिकामाथि खनिएका थिए।

त्यसअघि मुस्ताङमा प्रस्ताव गरिएको बौद्ध धर्मसँग सम्बन्धित शिक्षालय (कलेज) का सन्दर्भमा पनि ओलीले २० फागुन (२०७९) मा तथ्यभन्दा फरक अभिव्यक्ति दिएका थिए।

खासमा त्यहाँ विश्वविद्यालयको प्रस्ताव गरिएकै थिएन। उच्च शिक्षालय (कलेज) को प्रस्ताव मात्र गरिएको थियो। कलेज निर्माणमा आर्थिक सहयोगका लागि मुस्ताङ साक्या बौद्ध संघले भारतीय दूतावासलाई पत्राचार गरेको थियो। 

यस सम्बन्धी पत्र एमालेबाटै निर्वाचित वारागुङ गाउँपालिकाका अध्यक्ष रिङ्जिन नामगेल गुरुङले पठाएका थिए। जहाँ बौद्ध कलेज निर्माण गरिने भनिएको थियो, त्यो ठाउँ निषेधित क्षेत्रभित्र पनि पर्दैनथ्यो। 

तर, २० फागुन (२०७९) मा आयोजित एउटा कार्यक्रममा ओलीले मुस्ताङको निषेधित क्षेत्रमा भारतले विश्वविद्यालय खोल्न लागेको दाबी गरे। संवेदनशील क्षेत्रमा विदेशीलाई विश्वविद्यालय खोल्न दिएर सरकारले विदेशीको दलाली गरेको आरोप समेत लगाए।   

‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनमाथिको गद्दारी हो, ०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो,’ ओलीले भनेका थिए, ‘आफ्नै मुलुकको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो, स्वाधीनतालाई अस्वीकार गरेको हो। विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ? विश्वविद्यालयका नाममा अर्थाेकै गर्न खोजेको हो। विदेशीको खेल मैदान बनाउन खोजेको, त्यहाँको युरेनियममा ध्यान दिएको हो।’

ओलीले लगाएको आरोप र गरेको दाबी कति हावादारी रहेछ भन्ने कुरा तत्काल प्रमाणित भयो, एमालेबाटै निर्वाचित गाउँपालिका अध्यक्षले भारतीय दूतावासलाई पत्राचारहरु सार्वजनिक भए। एमालेबाटै निर्वाचित मुस्ताङका पूर्व प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले समेत ओलीको दाबीको खण्डन गरे।

दरबार हत्याकाण्ड : तथ्यले नबोलेको अभिव्यक्ति
तर, तथ्य विपरीतका दाबीलाई रोक्नुको साटो झन् वृद्धि भइरहेको छ। दीपक मल्होत्राको तस्बिरलाई आफ्नो तस्बिर छापेको भन्दै दैनिक पत्रिकाको  खेदो गरेको एक हप्ता नबित्दै दरबार हत्याकाण्डका सन्दर्भमा उनले तथ्यले पुष्टि नगर्ने अर्को दाबी गरेका छन्।  

‘सत्ताको लडाइँ निर्मम हुन्छ’ भन्ने कुरा ‘पुष्टि’ गर्न ओलीले सो दाबी गरेका हुन्। एमालेको जनवर्गीय समन्वय संयन्त्रको शुक्रबार (१२ साउन) बैठकमा ओलीले यस्तो दाबी गरेका थिए।

ओलीले त्यो बैठकमा के बोलेका थिए, सबैभन्दा पहिले त्यसको अध्ययन गरौँ :

राज्यका लागि प्रतिक्रियावादीहरुले केसम्म गर्छन् भने... वंश विनाश गरिदिए वीरेन्द्रको। राजा जस्तोको वंश विनाश गरे। कति निर्मम हुँदोरहेछ सत्ताको लडाइँ! आफ्नैले आफ्नैलाई, आफ्नै पूजनीयलाई आफैले हत्या गरेर...दोष थोपरिदिने फेरि उसकै (राजा वीरेन्द्र) छोराका टाउकोमा। जो मारिएको (युवराज दीपेन्द्र) छ उसकै टाउकोमा। ‘सप्पैलाई मार्‍यो, यताबाट लगेर गोली हान्यो’ रे क्या! चलायो दाहिने हातले, तर यतापट्टि लगेर (टाउकोतिर इसारा गर्दै)। बडो अप्ठेरोसँग हानेछ। यस्ता आरोप लगाउँछन् राजनीतिमा!’ 

दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको हात नरहेको दाबी एमाले नेतृत्वबाट पहिलो पटक आएको हो। दरबार हत्याकाण्ड २२ वर्षअघि भएको हो। यस अवधिमा ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन्। २०६३ पछि एमालेको नेतृत्व गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री पनि बनेका थिए।   

ओलीबाहेक एमालेका दुई शीर्ष नेता माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बने। यस अवधिमा गृह मन्त्रालयसहित एमाले अन्य पार्टी नेतृत्वको सरकारमा सहभागी पनि भयो।  

तर, ओलीले न आफू दुईदुई पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्ड छानबिनको प्रयास गरे, न त अन्य पार्टीको सरकार हुँदा नै एमालेले यस्तो छानबिनको माग गर्‍यो। 

तर, शुक्रबारको सम्बोधनमा ओलीले दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको साटो पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको सन्देश दिन खोजेका छन्।   

दरबार हत्याकाण्ड अब इतिहासको विषय बनिसकेको छ। त्यो हत्याकाण्ड किन भयो र कसले गर्‍यो भन्ने सम्बन्धमा आ–आफ्नो अनुकूलता अनुसार अनुमान गरिएका छन्, ‘थ्योरी’ निर्माण भएका छन्। दरबार हत्याकाण्डको भरपर्दाे छानबिन नभएकाले यस्ता मनगढन्ते अनुमान र ‘कन्स्पिरेसी थ्योरी’ निर्माण गर्न सहज भएको छ। 

सर्वसाधारणले अनुमानका आधारमा टिप्पणी गर्नु स्वाभाविक हो।सर्वसाधारणसँग सत्यको नजिक पुग्न तथ्य प्राप्त गर्ने स्रोत–साधन र संयन्त्र पनि हुँदैन।  

तर, दरबार हत्याकाण्डपछि पटक–पटक सत्तामा पुगेका ओलीले सत्ताबाट हटेपछि सो घटनाका सम्बन्धमा गलत दाबी गरेका छन्।  

शुक्रबारको सो सम्बोधनमा ओलीले दाबी गरेजस्तो दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले कहिल्यै र कहीँ पनि ‘युवराज दीपेन्द्रले दाहिने हातले गोली चलाएको’ उल्लेख गरेको रेकर्ड भेटिँदैन। तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद उपाध्याय नेतृत्वको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा पनि यस्तो कुरा उल्लेख छैन। 

सो समितिले प्रतिवेदन तयार गर्ने क्रममा तत्कालीन अधिराजकुमारीहरु कोमल शाह, हेलेन शाह र शोभा शाही, शाहज्यादा पारस शाह, शाहज्यादीहरु हिमानी शाह, प्रेरणा सिंह,  शिताष्मा शाह, दिलाशा सिंह, पूजा शाह, कुमार गोरख शमशेर राणा, दरबारका नातेदारहरु रवि शमशेर राणा, महेश्वरकुमार सिंह लगायत दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो। 

बयानमा कसैले युवराज दीपेन्द्रले दाहिने हातले गोली चलाएर आत्महत्या गरेको उल्लेख गरेको प्रतिवेदनमा भेटिँदैन। घटना हुँदा दरबारमै रहेका एडीसी र उद्धारमा संलग्न सैनिकहरुले पनि युवराज दीपेन्द्रले दाहिने हातले गोली चलाएर आत्महत्या गरेको आफूले देखेको उल्लेख गरेका छैनन्।   

सम्भवतः यहीकारण छानबिन समितिले पनि दीपेन्द्रलाई के भएको थियो भन्ने कुराको कुराको निष्कर्ष दिएको छैन।  

हो, दरबार हत्याकाण्डपछि उपचारका लागि मृतक र घाइतेहरुलाई लगिएको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका तत्कालीन कमान्डान्ट सहायकरथी दुर्गामान जोशीले तयार पारेको घाइतेहरुको विवरणमा युवराज दीपेन्द्रको दाहिनेतिर (सम्भवतः टाउकोको) ठूलो चोट र देब्रेतिर सानो चोट भएको उल्लेख छ। 

तर, त्यो घाउ गोली चलाएर भएको हो वा अन्य कारणले भएको हो, जोशीको हस्ताक्षर रहेको र समितिले प्राप्त गरेको सो विवरणबाट खुल्दैन। घाउको आकार पनि त्यसमा उल्लेख गरिएको छैन, जबकि राजा वीरेन्द्रको घाउको सन्दर्भमा घाउको आकार–प्रकार प्रष्टसँग उल्लेख गरिएको छ। 

चुनाव पर्यवेक्षण गरी कम्बोडियाबाट फर्केको हप्ता दिन पनि नबित्दै ओलीले बिनाअध्ययन दुई गलत दाबी गरेका छन्। जबकि कम्बोडियाका शासक हुन सेनजस्तै ओलीले पनि चार–चार विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि (मानार्थ) प्राप्त गरेका छन्।

स्मरणीय छ, प्राज्ञिक तबरले गहिरोसँग अनुसन्धान गरेपछि प्राप्त हुने उपाधि हो– विद्यावारिधि। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .