ad ad

राजनीति


धनराज गुरुङले ल्याएको ‘अपराधी जोगाउने’ विधेयकविरुद्ध उत्रिए शेखर

धनराज गुरुङले ल्याएको ‘अपराधी जोगाउने’ विधेयकविरुद्ध उत्रिए शेखर

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १८:५९, काठमाडौँ

नेपाली कांग्रेसका  केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘अपराधी जोगाउने’ जोगाउने गरी संसद्‍मा अघि बढाएको विधेयकको विरोध गरेका छन्। 

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार आफ्ना भनाइ राख्ने क्रममा कोइरालाले रक्षामन्त्री गुरुङले अघि बढाएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक-२०८०’ विधेयकको विरोध गरेका हुन्। 

बैठकलाई सम्बोधनका क्रममा कोइरालाले संसद्‍बाट दण्डहीनतालाई प्रश्रय दिने कानुनहरू बन्न थालेको बताए। उनले राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको पनि बताए। 

नीतिगत रूपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै उनले त्यसमा आपत्ति जनाए।

अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको मुख्य भूमिका छ। गटबन्धन सरकारको तर्फबाट गुरुङले संसद्‍मा पेस गरेको विधेयकमा राजनीतिक रङ जोडिएपछि जुनसुकै अपराधका अभियुक्तलाई पनि उन्मुक्ति दिने व्यवस्था गरिएको छ।

नेता कोइरालाले हाल संसद्मा रहेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बैठकमा जोड दिए। यो विधेयक पारित भएमा दण्डहीनताले संस्थागत रूप लिने उनले बताएका छन्। 

‘मलाई सबैभन्दा चिन्ता लागेको के हो भने नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो। दण्डहीनतालाई हामीले प्रश्रय गर्ने कानुनहरू बनाउन थालेका छौँ’, उनले भने, ‘राज्यका जिम्मेवार निकायहरूकै कारण देशका पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको छ। नीतिगत रूपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको छ।’

उनले बैठकमा बोल्दै हाल संसद्‍मा रहेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गरिनुपर्ने मत राखे। 

‘यो विधेयक संसद्‍बाट पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ’, उनले भने, ‘जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .