राजनीति


स्थायी कमिटीका नेताहरूसँग प्रचण्डले भने : जुनसुकै मूल्य चुकाएर सुशासन कायम होस्

नारायणकाजीलाई कार्यवाह‍क अध्यक्ष दिएर इटाली प्रस्थान
स्थायी कमिटीका नेताहरूसँग प्रचण्डले भने : जुनसुकै मूल्य चुकाएर सुशासन कायम होस्

नेपालखबर
साउन ६, २०८० शनिबार २१:१०, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै मूल्य चुकाएर भएपनि सुशासन कायम राख्नुपर्ने बताएका छन्। 

शनिबार बिहान पार्टीका स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सय केजी सुन प्रकरणमा जोडिएका विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउनेगरी अघि बढ्न निर्देश गरेका हुन्। 

आफू इटाली प्रस्थान गर्नुपूर्व स्थायी कमिटीका नेताहरूसँग छलफल गर्दै प्रचण्डले अनुसन्धान प्रभावित पार्नेगरी विभिन्न तत्वहरूले भूमिका खेलेको बताउँदै सजग रहन समेत आग्रह गरे। 

‘अहिले ललिता निवास, सुन तस्करी र भुटानी शरणार्थी लगायतको अनुसन्धान  प्रभावित पार्नेगरी विभिन्न खेलहरू भइरहेका छन्,’ प्रचण्डको भनाई उदृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने, ‘कुनैपनि हिसाबको दबाब र प्रभावमा नपरी तार्किक निष्कर्षमा पुग्नेगरी भूमिका खेल्नू।’

त्यस्तै, अध्यक्ष प्रचण्डले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिएका छन्। 

पार्टीका सचिव दिनानाथ शर्माका अनुसार आगामी साउन १७  गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न नेताहरूलाई जिम्मेवारी समेत दिएका छन्। 

शनिबार साँझ इटाली प्रस्थान गरेका प्रचण्ड आगामी असार ११ गते नेपाल फर्कने कार्यक्रम छ।

उनले आफू फर्कंदासम्ममा केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न कार्यबहाक अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव कृष्णबहादुर महरा, पम्फा भुसाल लगायतलाई जिम्मेवारी दिएका छन्। 

संगठन विस्तार, केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका कामहरूको जिम्मेवारी दिएर प्रचण्ड इटाली प्रस्थान गरेको सचिव शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .