नेपाली सेनाको संख्या घटाउने आफ्नो टिप्पणी विवादमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नयाँ तर्क अघि सारेका छन्।
सेनाबारे गरिएको कुप्रचार र भ्रममा नपर्न भन्दै उनले संघीयता र कर्मचारी संयन्त्रमा पनि सुधारको आवश्यकता रहेको उनले बताएका छन्।
‘नेपाली सेनाको गौरवशाली इतिहास छ। यो संस्थाको सान झन् बढाउँदै लानुपर्छ। जिम्मेवार सांसदका रुपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्युसँग नै भेटेर छलफल गरेँ’, उनले भनेका छन्, ‘अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझेँ र उहाँको यो कुरा मैले संसदमै राखेँ।’
उनले देशको अबको बाटो एकीकृत सुधारको योजना तीनवटै सुरक्षा निकाय आफैँले पेश गरेर त्यो प्रक्रियामा राजनीतिक सहमतिको अपेक्षा पनि गरेका छन्।
‘जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छ। आवश्यक भए संख्या बढाउने, आधुनिकीकरण मार्फत कुल संख्या घटाउने, वा यथावत राख्ने’, उनले भनेका छन्, ‘बोझिलो बन्दै गएको संघीयता र कर्मचारी संयन्त्रमा पनि सुधार गर्नुपर्छ। वित्त र सुरक्षा नीति दुवैमा संवेदनशील भएको एउटा राष्ट्रिय दलले गर्ने यही हो।’
उनले चौबाटोमा प्रोपगाण्डा गर्दै हिँड्नेहरुको हल्लाका पछाडि दौडन नहुने पनि बताएका छन्।
‘बहालवाला सर्वोच्च अथोरिटी (प्रधान सेनापति) ज्यूसँगै छलफल गरेर जिम्मेवार कुरा गर्छौं’, उनले भनेका छन्, ‘भ्रम फिजाउँदै राष्ट्रिय सेनालाई विवादमा तान्नेहरुको खराब नियतबाट सावधान रहनुहोला।’
दुई साताअघि प्रतिनिधिसभाका सांसद वाग्लेले श्रीलंकाले एकतिहाइ सेनाको संख्या घटाएको बताउँदै नेपालमा ९० हजार सेना आवश्यक नरहेको तर्क गरेका थिए।
माओवादी द्वन्द्व हुनुअघि नेपाली सेनाको संख्या ४५ हजार रहेको र माओवादीसँग लड्ने नाममा बढाएर ९० हजार पुर्याइएको उनको भनाइ थियो। तर द्वन्द्व सकिए पनि सेनाको संख्या घटाउने प्रयास नगरिएकोमा डाक्टर वाग्लले आश्चर्य प्रकट गरेका थिए।
असार २६ मा राष्ट्रिय सभा सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री डाक्टर विमला पौड्याल राईले विनियोजन विधेयकमाथिको छलफलका क्रममा ‘युद्ध भएमा छिमेकीसँग टिक्न नसकिने प्रष्ट हुँदा हुँदै ९० हजार सेना किन पाल्नु पर्ने ?’ भन्दै सेनाको आकारबारे प्रश्न गरेकी थिइन्।
उनले मुलुकको खर्च धान्न सेनाको संख्या घटाउनु पर्ने तर्क दिएकी थिइन्। पौड्यालले सेनाको संख्या घटाएर खर्च कटौती गर्न सकिने बताएकी थिइन्। यी दुवैजनाको भनाइलाई लिएर सेनाको संख्या घटाउने विषयमा भएको छलफलमै कयौँले आपत्ति प्रकट गरेका थिए। यस्तोमा वाग्लेको स्पष्टीकरण आएको हो।
Shares

प्रतिक्रिया