ad ad

राजनीति


दलहरू राज्यलाई कमजोर पार्न लागे, परराष्ट्र नीति कमजोर बन्यो : देव गुरुङ (भिडिओ)

‘राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमतिको विकल्प छैन’
दलहरू राज्यलाई कमजोर पार्न लागे, परराष्ट्र नीति कमजोर बन्यो : देव गुरुङ (भिडिओ)

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङ।


नेपालखबर
असार २८, २०८० बिहिबार १५:२२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक दलहरू एकले अर्कोलाई निषेध गर्दै अराजकता पैदा गर्ने र राज्यलाई कमजोर पार्ने दिशातर्फ जान थालेको टिप्पणी गरेका छन्।

बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘बहुदलीय प्रतिस्पर्धा हुनसक्छ, मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ। विकास निर्माण, राज्य सञ्चालन मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ तर मुलुकमा एकले अर्कोलाई निषेध गर्ने, अराजकता पैदा गर्ने, दलहरू हरेक ठाउँमा समानान्तर ढंगले चल्ने, राज्यलाई कमजोर पार्ने दिशातर्फ जान थाल्यो,’ महासचिव गुरुङले भने।

उनले राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताए।

उनले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै आपत्ति जनाए।

सरकार पनि राष्ट्रिय सहमतिबाट नै बनाउन आवश्यक रहेको बताए।

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको गुरुङको भनाई छ। उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताए।

परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुर रहेको बताए। नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको बताए। उनले राष्ट्रिय अस्मिता कमजोर हुनु, राजनीतिक दलहरु एक ठाउँमा नउभिनुले शक्तिकेन्द्रले नाजायज फाइदा उठाइरहेको बताए।

गुरुङले सम्बोधनको क्रममा के भने?
हाम्रा महत्वाकांक्षीहरु, कमीकमजोरीलाई महत्वकांक्षीका रुपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई बिस्थापित र निषेध गर्नेकुरा हाबी भयो। यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो। त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ। त्यसको विकल्प छैन, सकिन्छ,, सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ। सकिएन भने विकास निर्माण लगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ। नेपालले असंलग्न परराष्ट्रनीति अँगाल्दै आइरहेको छ। तर समस्या के देखिरहेको छु भन्दा पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको छ। असंलग्नताको सिद्धान्त कमजोर पर्दै गइरहेको छ। स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ। कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको छ। शान्ति कति कायम रहन्छ र रहँदैन भन्ने प्रकारको चुनौतिहरु पैदा हुन थाल्यो। यो शान्तिका अघि आइरहेको चुनौतिको प्रतिबिम्ब राष्ट्रिय राजनीतिमा पनि पर्न थाल्यो। राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य शर्त हो। विकासको निम्ति सबै दलहरुको, पक्षको बीचमा समझदारी, सद्भावको प्रक्रियाबाट अघि बढ्नुपर्ने अवस्था हो। तर विश्वको तनावको स्थितिको रिफ्लेक्शन राष्ट्रिय राजनीतिमा परेको छ। त्यसमा पनि आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध, सखाप गर्ने विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढ्न थाले। त्यसैले यतिबेला हामी मुलुकको राष्ट्रिय अस्मिताको रक्षाका निम्ति, सहमति, सहकार्य, राष्ट्रिय सहमति अनिवार्य सर्त हो। विचारको क्षेत्रमा देखापर्ने मतभेदहरु मैत्रीपूर्ण ढंगले प्रतिस्पर्धा गर्नेकुरा हो। अरु मुद्दाहरुमा चाहे परराष्ट्र नीति, राष्ट्रिय मामिला, चाहे विकास निर्माणको मामिला होस्, यिनीहरुमा राष्ट्रिय सहमति जरुरी छ। नेकपा (माओवादी केन्द्र) ले २०६६ सालदेखि नै निरन्तर रुपमा नै भन्दै आइरहेको छ। अहिलेको चुनौतिको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको डेमोक्रेसी निर्माण गर्नुपर्छ। दलहरुबीचमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ तर बहुलवाद होइन। बहुदलीय प्रतिस्पर्धा हुनसक्छ, मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ। विकास निर्माण, राज्य सञ्चालन मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ तर मुलुकमा एकले अर्कोलाई निषेध गर्ने, अराजकता पैदा गर्ने, दलहरु हरेक ठाउँमा समानान्तर ढंगले चल्ने, राज्यलाई कमजोर पार्ने दिशातर्फ जान थाल्यो। सबै प्रकारका पावर एक्सरसाइज दलहरुले गर्दै लैजाने, समानान्तर ढंगले चल्ने खालको प्रक्रियाले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको अवस्था छ। यही कमजोर बनेर गइरहेको अवस्था हुनाले यही अवस्थालाई शक्तिकेन्द्रले नाजायज फाइदा उठाउने मौका पाइरहेका छन्। दलहरुबीचमा लडाउने, टुटाउने, फुटाउने, विभाजन गर्ने, छिनछिनमा संसद, सरकार विघटन, छिनछिनमा सरकार परिवर्तन यस्तो प्रकारको अस्थिरताको खेल सुरु भएको छ। यो अस्थिरताको खेलको पछि हामीमा रहेका समस्याहरु, राष्ट्रिय आत्मसमर्पणवादी चिन्तनको समस्या, घुँडा टेकुवावादी चिन्तनको समस्या, यस्ता प्रकारका समस्याले पनि हामीलाई असर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .