राजनीति


मन निकै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ : गगन थापा

मन निकै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८० शनिबार १२:४८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आत्महत्याका घटना बढेकोप्रति चिन्ता व्यक्त गरेका छन्। पछिल्ला केही हप्तामा एकपछि अर्का युवा कलाकारले आत्महत्या गरेको खबरले आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन्। 

प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन निकै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ। 

पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एकपछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एकजना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो।’

बिहीबार साँझ मात्र अभिनेता सारुक ताम्राकारले आत्महत्या गरे भने शुक्रबार डान्सर सुशान्त खत्रीले सामाजिक सञ्जालमा लेखे, ‘तपाईंहरू चाँडै अर्को एक कलाकारलाई गुमाउँदै हुनुहुन्छ....।’ 

उक्त स्टाटसको केही समयपछि शुक्रबार मध्यराति फेसबुक लाइभमा आएर उनले आफू लामो समयदेखि डिप्रेसनमा रहेको बताए। 

यसरी बढ्दो आत्महत्या र डिप्रेसनले जनताका लागि भनेर आफूहरूले गरिरहेको राजनीतिमै प्रश्न चिह्न खडा भएको महामन्त्री थापाले उल्लेख गरेका छन्। 

‘आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? हामीले यतिका वर्षदेखि कसका लागि सङ्घर्ष गर्‍यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडिरहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ’, थापाले भनेका छन्, ‘खै, हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकासबाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?’
सामाजिक सञ्जालमा साथीको संख्या बढेसँगै मानिसहरूमा एक्लोपन बढेको थापाको ठम्याइ छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको र मनका कुरा राख्ने ठाउँ भेट्न छाडेको उनले उल्लेख गरेका छन्। 

‘मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नुपर्ने कस्तो समाजको निर्माण गर्‍यौँ हामीले’, उनले लेखेका छन्, ‘कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ।’  

अब पनि हामीले ठोस कदम नचाल्ने हो भने भविष्यमा धेरैलाई गुमाउनुपर्ने चेतावनी उनले दिएका छन्। ‘हामीले त्यो अवस्था कदापि आउन दिनुहुन्न। यसमा तपाईं हामी सबैको भूमिका रहन्छ’, उनले भनेका छन्। 

यसै क्रममा सांसद थापाले काठमाडौँ महानगर वडा नम्बर ३० मा सञ्चालन भइरहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले निःशुल्क परामर्श सेवा प्रदान गरिरहेको जानकारी गराउँदै चाँडै नै मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवा विस्तार गर्ने बताएका छन्। 

‘तपाईंले यहाँबाट पनि निःशुल्क सेवा लिन सक्नुहुने छ’, थापाले भनेका छन्, ‘अब मानसिक स्वास्थ्यसम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ। हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सिर्जना गर्नुपर्छ।’

विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ताखाले जानकारी र सहयोग पाउन सके कालान्तरमा उनीहरूका लागि सहज हुने थापाले उल्लेख गरेका छन्।

उनी भन्छन्, ‘हामीले यससम्बन्धी पहल कानुनी रूपमा नै  गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौँ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .