ad ad

राजनीति


उपराष्ट्रपतिद्वारा बूढानीलकण्ठ धर्मशालाको उद्घाटन

उपराष्ट्रपतिद्वारा बूढानीलकण्ठ धर्मशालाको उद्घाटन

नेपालखबर
असार २०, २०८० बुधबार २१:३६, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह)को उद्घाटन गरेका छन्।

भारत सरकारको करिब पाँच करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो। सो अवसरमा उनले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहना गरे।

समारोहमा प्रतिनिधिसभा सदस्यद्वय गगनकुमार थापा र प्रदीप पौडेल, बूढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो। विसं २०७२ को भूकम्पले क्षति पु¥याएका सम्पदाको संरक्षण एवं पुनःनिर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिकाबमोजिम बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माण भएको हो।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) र सहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो। नवनिर्मित साढे तीनतले धर्मशालाले बूढानीलकण्ठ मन्दिरमा आउने तीर्थयात्रीलाई सेवा दिनेछ।

भारत सरकारले नेपालको सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गरेको छ। यसका अतिरिक्त भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घर पुनःनिर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा एक सय ३२ वटा स्वास्थ्य सुविधा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .