ad ad

राजनीति


प्रचण्डसँगको सहयात्रा टरेपछि बाबुरामले घोषणा गरे पार्टी विस्तार अभियान

प्रचण्डसँगको सहयात्रा टरेपछि बाबुरामले घोषणा गरे पार्टी विस्तार अभियान

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १५:४२, काठमाडौँ

आफ्नै पहलबाट जन्मिएको समाजवादी मोर्चामा नअटेपछि डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टीको संगठन निर्माण तथा विस्तार अभियान घोषणा गरेका छन्। 

४ असारम सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिरको नेकपा कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा घोषणा गरेयता बाबुराम मौन थिए।

माओवादी नेतृत्वको समाजवादी मोर्चामा नअटाएपछि मौन रहेका बाबुरामले नेपाल समाजवादी पार्टीलाई स्थापित गर्न अभियान थालेका हुन्। 

चार कम्युनिस्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्धेश्य राखेर साझा प्रतिबद्धतासहित समाजवादी मोर्चा बनाएका थिए। 

तर उक्त मोर्चाले घोषणा भएयता गति लिन सकेको छैन। अर्कातिर प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट एकताको पक्षमा आफूलाई उभ्याउन थालेका छन्। 

प्रचण्डले कम्युनिष्ट एकताको कुरा गरिरहँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले तत्काल एक्लै अघि बढ्ने योजनासहित अभियान घोषणा गरेका हुन्। 

उनले उक्त घोषणाका क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद्, जातीय-भाषिक पहिचानका आधारमा प्रदेशहरूको पुनःसीमांकन र नामांकन लगायत संशोधन नभएसम्म राजनीतिक अस्थिरता र जनताको असन्तुष्टि कायम रहने बताएका छन्। 

‘लोकतान्त्रिक राजनीतिक स्थिरताबिना सुशासन र तीव्र आर्थिक–सामाजिक रूपान्तरण हुनै सक्दैन । मधेश प्रदेशबाहेक अरू सबै प्रदेशको नामाकरण पुरानै पञ्चायती अञ्चलहरूको जस्तो गरी भएको छ’, उनले दस्तावेजमा भनेका छन्, ‘प्रदेश नामाकरणको विषयलाई लिएर १ नम्बर प्रदेशमा ठूलो आन्दोलन भइरहेको छ’

उनले प्राप्त उपलब्धि जोगाउँदै अब तीव्र आर्थिक छलाङ मार्नु जरूरी रहेको पनि बताएका छन्। 

‘प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर सामाजिक न्यायसहितको तीव्र विकास र समृद्धिको बाटोमा अघि बढन् अब ढिलाइ गर्नु हुँदैन। गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकताका निम्ति लडेका कतिपय नेताहरू भ्रष्टीकरण र निजी सत्तालिप्सा त्यागेर रुपान्तरण हुन जरुरी छ’, उनले भनेका छन्, ‘समयले कसैलाई पर्खिँदैन। समय निर्मम हुन्छ। पुराना शक्तिहरु रुपान्तरित नभए नयाँ वैकल्पिक शक्तिहरुको उदय अवश्यम्भावी छ।’ 

यस्तो बेला दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आमजनताबीच संगठन निर्माणमा लागेको पनि उनले बताएका छन्। ‘सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले यो ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ’, उनले भनेका छन्।  

भट्टराईले पार्टी संगठन निर्माण तथा विस्तार अभियान घोषणा गर्दै अभियानको प्रमुख नारा  ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ दिएका छन्। 

यो अभियानको समग्र नेतृत्व ‘केन्द्रीय कार्यकारिणी समिति’ ले गर्ने पनि उनले बताएका छन्। केन्द्रीय कार्य समितिले अभियान अवधिभरलाई ‘केन्द्रीय अभियान परिचालन समिति’ र आवश्यक सचिवालय तथा उपसमितिहरु निर्माण गर्ने पनि बताइएको छ। 

यो अभियान नेपाल समाजवादीले यही असारबाट सुरु भएर पुस मसान्तसम्म सकिने छ। अभियान मुख्यतः स्थानीय तह (गाउँपालिका-नगरपालिका) केन्द्रित हुने भएको छ। संघ र प्रदेश स्तरमा प्रचारात्मक, वैचारिक, व्यवस्थापकीय काम हुने पनि उनले बताएका छन्। 

यो अभियानबाट डा. भट्टराईले पार्टीलाई वैचारिक रुपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छन्। त्यसैगरी पार्टी, नेता–कार्यकर्ताको सैद्धान्तिक एवम् वैचारिक स्तर अभिवृद्धिको लक्ष्य पनि लिइएको छ।

अभियानमा तत्कालीन जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचानसहितको संघीयताको एजेण्डालाई सडक, सदन र सरकारमा सशक्त रुपमा उठाउने नीति समाजवादीले लिएको छ। 

समाजवादीले सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तारको योजना पनि लिएको छ। त्यसैगरी विचार र मुद्दा मिल्ने शक्तिहरुसँग संवाद, सहकार्य र ध्रुवीकरणलाई अघि बढाउँदै प्रगतिशील, लोकतान्त्रिक, समाजवादी ध्रुव निर्माण गर्न पहल गर्ने दाबी पनि बाबुरामले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .