नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने बताएका छन्।
उनले ती पद खोपाका मूर्तिका लागि नभएको बताउँदै सरकारलाई सुझाव दिनुपर्ने बताए। राज्यको स्वामित्व वितरणमा प्रधानमन्त्री र मन्त्रीलाई झक्झकाउने र निर्वाचित राजा जस्तो बन्न नदिन भूमिका खेल्नुपर्ने बताए।
संसद्लाई छलेर ल्याइएका नागरिकता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्ने उनको भनाइ थियो।
'राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होइनन्। संसद्लाई छलेर पेस भएका नागरिता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्छ,' उनले भने, 'विधेयक संसद्बाट पास गरेर ल्याउनु, मलाई अनुरोध गर्ने होइन भनेर भन्न सक्नुपर्छ।'
आफूलाई उम्मेदवार बनाउने पार्टीका नेताको भनाइमा लागेर राष्ट्रपति र उपराष्ट्रपतिले सरकारी कार्यालय र निवासलाई कार्यकर्ता भेटघाटको थलो बनाएकोमा पनि उनले आपत्ति जनाए। 'आफ्नो पार्टीको कार्यकर्ता भेला गर्ने थलो होइन सरकारी कार्यालय र निवास,' उनले भने, 'भोवलि पार्टीमै जानुपर्छ भनेर कार्यकर्तालाई जनतताको पैसाले चिया खुवाउन पाइन्छ? त्यसरी हुँदैन।'
भारतीय संसद्मा लुम्बिनी र कपिलवस्तु गाभिएको नक्सा राखिएकोमा राष्ट्रपति र उपराष्ट्रपतिले कुनै अभिवक्ति नदिनु पनि आपत्तिजनक भएको उनले बताए। उनले भने, 'खारेज गर्न भन्नुपर्छ।'
राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत सहभागी बनाइ राजनीततिक दलसँग छलफल गराउन पनि उनले अनुरोध गरे।
लोकतन्त्रमा संसद्लाई सुनेर बजेट संशोधन गराउन पनि सरकारलाई प्रेरित गर्न राष्ट्रपति र उपराष्ट्रपतिले भूमिका खेल्नुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया