संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आगामी वर्षको बजेटसम्बन्धी किताब तीन पटकसम्म छाप्नु परेको छ।
१ नम्बर प्रदेशसभाको बहुमतबाट पारित ‘कोशी प्रदेश’ नामलाई पर्यटनमन्त्री सुदन किरातीले अस्वीकार गरेपछि बजेट किताब दोस्रो पटक छाप्नु परेको थियो।
बजेट किताबमा ‘कोशी प्रदेश’ उल्लेख गरेर ल्याउन सभामुख देवराज घिमिरेले निर्देशन दिएपछि पर्यटमन्त्रालयको किताब फेरि छापियो।
‘कोशी’ विवादका बाछिटा संघमा पनि, एमालेको विरोधपछि रोकियो पर्यटन मन्त्रालयको छलफल
तर दोस्रो पटक छापिएको किताबमा पनि मन्त्री किरातीले कोशीसहित सातै प्रदेशको नाम नलेखी नम्बर राखेपछि छलफल अघि बढेन। दोस्रो पटक पनि सभामुख घिमिरेले सातै प्रदेशको नाम लेखेर ल्याउन मन्त्री किरातीलाई निर्देशन दिए।
त्यसपछि मन्त्री किरातीले तेस्रो पटक प्रदेशहरूको नाम लेखेको बजेट किताब छापेर शुक्रबार संसद् बैठकमा पेस गरेका छन्।
उक्त किताब हातमा आएपछि पूर्वपर्यटमन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद योगेश भट्टराईले किरातीमाथि कटाक्ष गरे।
‘एक पटक होइन, दुई पटक होइन, तीन पटक पर्यटनमन्त्रालयको बजेट किताब छाप्नु परेको छ’, उनले भने, ‘सायद त्यही धपेडीले होला पर्यटमन्त्री संसद्मा आउनु भएन। यदि बिरामी पर्नु भएको हो भने स्वास्थ्य लाभको कामना गर्दछु।’
संसद्मा बजेट किताब पेस गरेका पर्यटनमन्त्री किराती शुक्रबार पोखरामा ड्रागन बोट रेस फेस्टिभलमा सहभागी भइरहेका छन्।
२ दिनसम्म चल्ने नेपाल-चीन फ्रेन्डसिप कार्यक्रमअन्तर्गत भएको बोट रेस मन्त्री किराती र नेपालस्थित चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका छन्।
Shares
प्रतिक्रिया