ad ad

राजनीति


सेवा प्रवाहमा समस्या भए नढाँटी जनतालाई भन्नुपर्छ : नेता पुन

सेवा प्रवाहमा समस्या भए नढाँटी जनतालाई भन्नुपर्छ : नेता पुन

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८० बुधबार १३:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुन अनन्तले राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँगको संवाद बढाउनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बुधबार पुनले जनताको विश्वास जित्न नेतृत्वले संवाद गर्नुपर्ने तथा उनीहरुका प्रश्न र गुनासाको जवाफ दिनुपर्ने उल्लेख गरे।

प्रजातान्त्रिक र खुला समाजको चरित्र नै नेतृत्व जनतासँग संवादमा रहनु भए पनि त्यसो हुन नसक्दा समाजमा भ्रम पैदा भइरहेको उनको भनाइ थियो।

सरकार र सरकारी निकायको उच्च नेतृत्वमा रहेकाहरुले सेवा प्रवाहका क्रममा कुनै समस्या वा सीमितता भए नढाँटी जनतालाई बताउन सक्नुपर्ने बताए।

‘सरकार र सरकारी निकायको नेतृत्वमा भएकाहरुले जनताका हरेक सवालका जवाफ दिनुपर्छ। समस्या छन् भने बताउन सक्नुपर्छ’, पुनले भने, ‘सरकारी निकायका पनि समस्या र सीमितता हुन्छन्। यो संसारभरकै सरकारका हकमा लागू हुन्छ। सबै कुरा भनेकै समयमा र भनेको जसरी नहुन सक्छ। तर, सरकारी सेवा प्रवाहमा भएका समस्याबारे जनतासँग संवाद गर्नु डेमोक्रेटिक व्यवस्थामा अनिवार्य पक्ष हो।’ 

काममा ढिलाई हुँदा वा सेवा प्रवाह प्रभावकारी नहुँदा सेवाग्रामीमा मन्त्री र सचिवले पक्कै पनि चलखेल गरेको हुनुपर्छ भन्ने मनोविज्ञान विकास भएको पुनले उल्लेख गरे।

जनतासँग संवाद नहुँदा कतिपय अवस्थामा नेतृत्वमाथि नखाएको विष पनि लाग्ने गरेको चर्चा उनले गरे। 

‘खाएको विष लाग्नु त स्वभाविक छ, तर कुनै बेला नखाएको विष पनि लाग्ने गरेको छ’, उनले भने, ‘यो राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरीका कारणले भएको हो।’

जनतामा राजनीतिक नेतृत्व र प्रशासकहरुले आफूहरुलाई जहिले पनि हेपिने गरेको मनोविज्ञान रहेको भन्दै उनले दुई पक्षबीच संवाद हुन नसक्दा यस्तो अवस्था आएको बताए। 

‘राजनीतिक र प्रशानिक नेतृत्वमा रहेकाहरु फरक र सेवाग्राही फरक मानिस हुन भन्ने व्यवहार बन्द हुनुपर्छ। सेवाग्राही र जनताहरु सधैं हेपिनुपर्छ भन्ने बनोविज्ञान छ’, उनले भने, ‘नेतृत्वमा रहेकाहरुले गल्ती भएको अवस्थामा सरी भन्न सक्नुपर्छ।’

राज्यका निकाय, मन्त्री र सेवा लिन आउने सर्वसाधारण सबै बराबर हुन् भन्ने व्यवहारबाटै स्थापित गर्न राजनीतिक र प्रशासनिक नेतृत्व गम्भीर बन्नुपर्नेमा पुनले जोड दिए।

सेवाग्राहीले प्रश्न गरिरहने र शासनमा बस्नेहरु जवाफ नदिई चुपचाप बस्नाले संस्कृतिका कारण गल्ती नगर्नेहरुले समेत गाली खाने गरेको उनको तर्क छ।

‘यो संस्कृति नबदल्दासम्म असल मानिसले पनि गाली खाइरहन्छ। खराबले त गाली खाने नै भयो’, पुनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .