ad ad

राजनीति


गृहमन्त्रीसँग चिकित्सकले भने- हामीविरुद्ध आक्रमण बढ्यो, सुरक्षाको व्यवस्था गरियोस्

गृहमन्त्रीसँग चिकित्सकले भने- हामीविरुद्ध आक्रमण बढ्यो, सुरक्षाको व्यवस्था गरियोस्

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपाल चिकित्सक संघको टोली।


नेपालखबर
असार २, २०८० शनिबार १३:४०, काठमाडौँ

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोडजस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एवं अर्धन्यायिक निकाय अनभिज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ। राज्यको तर्फबाट तर्जुमा गरिएका ऐन, कानुनबमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ। 

ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज (अत्तरखेल, जोरपाटी) मा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार भएको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ। गत मङ्गलबार उपचारका क्रममा भएको घटनाको निहुँमा बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ। 

यस्तै अन्य अस्पतालमा भएका घटनाप्रति समेत सङ्घले ध्यानाकर्षण गराएको छ। सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीले भने, ‘नारायणी अस्पताल वीरगन्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताललगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेको अवस्था छ।’ 

उपचार प्रक्रियामा चित्त नबुझेका अवस्थामा कानुनी बाटो अवलम्ब गर्नुभन्दा अस्पताल तोडफोड र अभद्र व्यवहार गर्नेक्रम बढेको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .