ad ad

राजनीति


प्रधानमन्त्रीले समय नदिएपछि स्थगित भयो राष्ट्रियसभाको बैठक

प्रधानमन्त्रीले समय नदिएपछि स्थगित भयो राष्ट्रियसभाको बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार ११:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय नदिएपछि राष्ट्रिय सभाको मंगलबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको छ।

जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे र नागरिकता विधेयकबारेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितले जवाफ माग गरेका थिए।

त्यहीअनुसार प्रधानमन्त्रीले मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठकमा जवाफ दिने तयारी थियो। तर प्रधानमन्त्री खप्तड राष्ट्रिय सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम जाने भएपछि अन्तिम समयमा बैठक नै स्थगित भएको हो।

प्रधानमन्त्री खप्तडतिर लाग्ने भएपछि संघीय संसद्का महासचिव डा. भरतराज गौतमले अन्तिम समयमा सूचना निकालेर बैठक स्थगित गरेका हुन्। राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने गरी निर्धारण गरिएको थियो। 

‘प्रधानमन्त्रीले समय नदिएर राष्ट्रियसभाको बैठक बस्न सकेन। अन्तिममा स्थगित गर्नुपर्यो’, संघीय संसद् सचिवालयका एक अधिकारीले भने, ‘उहाँले सोमबार नै प्रतिनिधिसभामा जवाफ दिनु भयो। तर राष्ट्रियसभालाई उहाँले उपेक्षा गरे जस्तो भयो।’

प्रतिपक्षीहरुले प्रधानमन्त्रीको जवाफ माग्दै सोमबार पनि बैठकमा अवरोध गरेका थिए। अहिले पनि एमालेले प्रधानमन्त्री नबोलेसम्म राष्ट्रियसभा बैठक अघि बढ्न नसक्ने जनाएको छ। 

मंगलबारको बैठकमा प्रधानमन्त्रीले जवाफ दिएको भए बैठक अघि बढ्न सक्थ्यो। संसद् सचिवालयले मङ्गलबार बिहान ११:११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधवार बिहान ११:११ बजे बस्ने गरी सारिएको संघीय संसद्का महासचिव गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .