राजनीति


संसदीय समितिको निर्देशन टेर्दैनन् मन्त्री र सचिव

संसदीय समितिको निर्देशन टेर्दैनन् मन्त्री र सचिव

नेपालखबर
पुस २८, २०७६ सोमबार ९:३७,

राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टिकरण लिन माग गरेका छन्।

विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन्। सोमबार बसेको समितिको बैठकमा सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगर्ने बताएका छन्।

सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न डेटलाईन दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताइन्।

‘दशैं अगाडि गएर खसी बजारको पसलेहरुसँग कुरा गरेर आयौँ। यो भएन, त्यो भएन भनेर उनीहरले धेरै कुराहरु गरे। अब अहिले फेरि अनुगमनमा जाउँ भने त्यस्तै स्थिति छ भनेदेखि हाम्रो क्रेडिबिलिटी के हो? हामीले हिजो उठाएका प्रश्न्हरु केही पनि समाधान नहुने?’ उनले प्रश्न गरिन्, ‘हामीले विशेष रुपमा के रिकमेण्डेसन गरेका छौँ। त्यसको प्रगति के भयो? भनेर सम्बन्धित मन्त्रालय, सम्बन्धित विभागका सम्बन्धित मान्छेलाई बोलाएर पहिले सोध्ने कहिलेसम्म त्यो इन्पुट हुन्छ। त्यो डेडलाईन दिने र त्यो डेडलाइनपछि हामी हेर्न जाने गर्दा व्यवस्थित हुन्छ।’

सांसद महेश कुमार महराले अहिलेसम्म धेरै निर्णयहरु भएपनि व्यवहारमा केही पुष्टि हुन नसकेको बताए। सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेको उनले बताए। ‘राष्ट्रियसभा र त्यसका समिति भन्ने वित्तिकै केही होइन जस्तो सरकारलाई लाग्छ की?’ उनले प्रश्न गरे। आफूहरुको हैसियत पनि संघीय सांसदको भएको भन्दै उनले प्रतिनिधिसभाका समिति र राष्ट्रियसभाका समिति हेर्ने नजर फरक रहेको बताए।

‘प्रधानमन्त्री चुन्नेमा र अभियोग लगाउने अधिकारसम्म भइदिएको भए केही सुनुवाई हुन्थ्यो की। नत्र केही छैन, हाम्रो महत्वपूर्ण २ वर्षको समयमा धेरै गर्‍याैँ तर केही रेस्पोन्स नै छैन। संघीय संसदको संघीय सांसद हाैँ नी सबै। प्रतिनिधिसभामा समितिको हेर्दा अलग्गै छ। उहाँहरुले गरेका निर्देशन कार्यान्वयन होला नहोलान तर रिस्पोन्स त गरेको छ नी। सम्बन्धित मन्त्रीहरुलाई बोलाएर कुरा राख्नुपर्‍यो’, उनले भने।

सांसद मुक्ता कुमारी यादवले समितिले दिएका निर्देशनहरु कतिको कार्यान्वयनमा गए। त्यस सम्बन्धि काम के भइरहेको छ त्यसको जवाफ माग्नुपर्ने बताइन्।

सांसद दिनानाथ शर्माले समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताए।

समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय दिने नगरेको गुनासो गरिन्। समितिको बैठकमा सहभागि हुन तीन दिन अगाडि नै जानकारी गराएर समय माग्दा पनि अन्यौल भएको उनको भनाई छ। सुरुसुरुमा बोलाउँदा मन्त्रीहरु आउने गरेको भएपनि १ वर्षयता नटेर्ने प्रवृति हाबी भएको उनले बताए।

सोमबार बजार अनुगमनलाई नियमति गर्ने छलफल र छड्के अनुगमन सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad