राजनीति


‘भैँसी चढेर आएको’ शब्दले संसदमा विवाद, रेकर्डबाट हटाइयो

‘भैँसी चढेर आएको’ शब्दले संसदमा विवाद, रेकर्डबाट हटाइयो

नेपालखबर
जेठ २२, २०८० सोमबार १४:२६, काठमाडौँ

प्रतिनिधि सभामा प्रधानमन्त्रीमाथि केही सांसदहरुले अमर्यादित शब्द प्रयोग गरेको भन्दै संसदको रेकर्डबाट हटाइएको छ। ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो।

सोमबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई भारतबाट भैसीँ चढेर आएको भनेका थिए।

संसदमा अमर्यादित शब्द प्रयोग गरेको भन्दै नेकपा माओवादी केन्द्रका प्रमुख दलका सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए।

त्यसअघि संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मूर्रा भैंसी ल्याउनेबारे सात वर्षअघि नै कुरा भएको जानकारी दिएका थिए । 

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरु आए...’ खनालले भने।

लगत्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति जनाउँदै उठेका थिए। सभामुखले प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्नो कुरा राख्न समय दिएसँगै उनले संसदमा अमर्यादित शब्द प्रयोग भएको उल्लेख गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे।

‘संसदमा मर्यादित शब्द प्रयोग हुनुपर्छ। भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट मेटाइयोस्’,’ भने।

यता, हीतराज पाण्डे लगायतका माओवादी केन्द्रका सांसदहरु उठेसँगसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसदहरु पनि उठिसकेका थिए। 

उनीहरूको कुरा थियो–सांसद खनाल बोल्दाबोल्दै सत्तारुढ दलका सांसदहरुले बोल्न नदिएर नियम मिचेको।

सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिए।

थापाले सत्तारुढ दलका सांसदहरुले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधि सभा नियमावलीको नियम मिचेको बताए।

‘यहाँ माननीय सदस्यले बोलिरहेको बेला सत्ता पक्षका माननीय सदस्यहरुले दादागिरी देखाउन पाइँदैन। यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइदैनँ। यो नियमावलीको पालना गरियोस्,’ थापाले भने, ‘यसको निम्ति जोड गर्न चाहन्छु। यो दादागिरी स्वीकार्य हुन्न। यो कुनै हालतमा स्वीकार्य हुन्न।’

यसपछि सभामुखले प्रश्न सोध्ने सांसदहरुलाई मर्यादामा रहेर प्रश्न गर्न र कोही सदस्य बोल्दै गर्दा अर्को सदस्यले प्रतिवाद नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावली नियम २० (झ)प्रति सांसदहरुलाई आकर्षित गरे।

सभामुखको आग्रहपछि पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुखले प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द संससदको रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिए।

‘भैँसी चढेर आएको भन्ने शब्द यो रेकर्डबाट हटाउनको लागि म सचिवालयलाई निर्देशन दिन्छु,’ सभामुख घिमिरेले भने।

यसपछि प्रतिपक्षी दलहरुको विरोध झनै चर्को भयो। एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री स्वयंले संसदको रोष्टमबाट भैसी चढेर प्रशंग निकालेको भन्दै प्रधानमन्त्रीको शब्द पनि रेकर्डबाट हटाउन माग गरे। 

रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले बोलेको शब्द पनि हटाउन माग गरे। 

बैठक अवरोध जारी रह्यो।

त्यसपछि सभामुखले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन गरेको कुरा बैठकलाई जानकारी गराए। 

प्रधानमन्त्रीको नाम भने लिएनन्। 

प्रतिपक्षीहरू प्रधानमन्त्रीको नामै लिएर शब्द हटाउन निर्देशन दिनुपर्ने मागमा थिए। बैठक अवरोध जारी रह्यो।

लगत्तै सभामुखले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैसी चढेर आएको भन्ने शब्द संसद रेकर्डमा रहनु उपयुक्त नभएको पुनः ध्यानाकर्षण गराए।

यसर्थ आफूले हटाउन रुलिङ गरिसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले बोलेको र सांसदले बोलेको कुरालाई एकै ठाउँमा गाँसेर हेर्न नमिल्ने बताए। र बैठक सञ्चालन गर्न आग्रह गरे।

‘आजको हाम्रो छलफलमा छलफल चलिरहँदाखेरी हाम्रो देशको प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल प्रचण्डज्यु भारतबाट नेपाल आउँदा भैँसी चढेर आएको भन्ने शब्द यो रेकर्डमा रहनु उपयुक्त भएन। त्यसले गर्दाखेरी यस्ता शब्द हटाउनु उपयुक्त हुन्छ भनेर मैले रुलिङ गरेको छु,’ सभामुखले भने, ‘जहाँसम्म प्रधानमन्त्रीज्यू बोल्दाखेरी मलाई पनि भैँसी चढाएका थिएँ भन्ने कुरा आज उहाँ बोल्दाको रेकर्डमा आएको छ।भैसी म पनि चढेको थिएँ, भैसी चढाएका थिए भन्ने उहाँको कुराहरु आएको छ। यसलाई त्यसरी एकै ठाउँ गासेर नहेरिकन भैँसी चढेर आएको हाम्रो प्रधानमन्त्री भारतबाट भन्ने रेकर्ड हाम्रो संसदको यो इतिहासमा त्यस्तो रेकर्ड उचित हुन्न भनेर मैले रुलिङ गरेको कुरालाई अनुरोध गर्दै माननीयज्युहरु बसौँ।’

नियमावलीमा आकर्षित भएर आफ्ना कुरा राख्न समेत उनले आग्रह गरे।

‘खासगरी नियमावलीमा आकर्षित भएर आफ्ना विषयहरुलाई राखौँ।आपत्तिहरुलाई राखौँ र व्यवस्थित ढंगबाट संसद सञ्चालन गर्न लागौँ। म यहाँहरुलाई यो अनुरोध गर्दछु,’ सभामुखको आग्रह थियो।

यससँगै सबै सांसदहरु आ–आफ्नो सिटमा बसे। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूचिले निरन्तरता पायो।

यसअघि बोल्दाबोल्दै रोकिन पुगेका रास्वपा सांसद शिशिर खनालले आफ्नो प्रश्नलाई पूर्णता दिन पाए र सांसदहरुको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रम क्रमशः अगाडी बढ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad