ad ad

राजनीति


ढाकाकुमारको विज्ञप्ति- मैले सांसद बन्न पार्टीलाई ३ करोड बुझाएको भनेको छैन

ढाकाकुमारको विज्ञप्ति- मैले सांसद बन्न पार्टीलाई ३ करोड बुझाएको भनेको छैन

निलम्बित सांसद ढाकाकुमार श्रेष्ठ


नेपालखबर
जेठ १२, २०८० शुक्रबार ७:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ बुझाएको भनी सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन्। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टी र संसद् दुवैबाट निलम्बित श्रेष्ठले समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र प्रवक्ता डा. मुकुल ढकाललाई झन्डै ३ करोड रुपैयाँ बुझाएको स्वयं श्रेष्ठले बताएको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेका थिए। 

यसप्रति आपत्ति जनाउँदै आरोपित उपसभापति अर्याल र प्रवक्ता ढकालले वक्तव्य जारी गरी झुटो आरोप लगाइएकाले मानहानिको मुद्दा लगाउने चेतावनी दिएका थिए।

त्यसपछि ढाकाकुमार श्रेष्ठले पनि बिहीबार विज्ञप्ति जारी गरी आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यमले लेखेको दाबी गर्दै खण्डन गरेका हुन्। 

‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरूमा विशेषतः मिति २०८०/०२/१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु। साथै निष्पक्ष र स्वतन्त्र पत्रकारितानको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यसरी झुटो समाचार अब थप मिडियाले सम्प्रेषण गरेका खण्डमा आफू स्वयं कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनीसमेत श्रेष्ठले दिएका छन्। 

उनले भनेका छन्, ‘अन्तमा स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैँ कानुनी प्रक्रियामा जान बाध्य हुनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .