ad ad

राजनीति


बजेट ल्याउने शैली बदल्न गगन थापाको सुझाव

बजेट ल्याउने शैली बदल्न गगन थापाको सुझाव

नेपालखबर
जेठ १०, २०८० बुधबार १२:५२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकारको नीति तथा कार्यक्रम ल्याउने समय, तरिका र समेटिने अन्तर्वस्तुमा परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन्।

सरकारले संसद्‌मा पेस गरेको नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिँदै उनले बुधबार यो ल्याउने शैली बदल्नुपर्ने बताएका हुन्। 

‘यो ल्याउने समय पनि बदलिनुपर्‍यो। यो बनाउने तरिका पनि बदल्नुपर्‍यो। यसभित्र हुने अन्तर्वस्तु पनि बदलिनुपर्‍यो,’ थापाले भने, ‘यो बरु जम्मा ५ पेजको आओस्। तर, सरकारले के भनोस् भने मैले यो यो कुराका लागि नयाँ कानुन ल्याउँदै छु। यो यो नीतिबाट मैले अपेक्षा गरेको परिणाम नआएपछि म बदल्दै छु। यो यो कुरा म समग्रतामा हेर्दै छु। यसरी आओस्।’ 

सरकारले नीति तथा कार्यक्रममा राखेका उद्देश्यको सफलताको कामना गर्दै उनले जारी छलफलबाट अर्को वर्ष ल्याइने नीति तथा कार्यक्रममा सुधार गरिनुपर्ने बताए।

‘सरकारले नीति तथा कार्यक्रममा जे उद्देश्य राखेको छ, त्यसमा सफलता प्राप्त गरोस्, मेरो शुभकामना छ,’ थापाले भने, ‘तर, यो वर्षको छलफलबाट अर्को वर्ष यसलाई सुधारोस् भन्ने चाहन्छु।’

आगामी वर्षमा पनि यसै गरी नीति तथा कार्यक्रम ल्याइने हो भने छलफलमा भाग लिनुको कुनै औचित्य नभएको टिप्पणी उनले गरे। 

‘यो वर्ष यसैगरी आयो। यसलाई हामीले यसरी लियौँ। तर अर्को वर्ष पनि नीति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि छलफल यसैगरी हुने हो भने मैले अरु माननीय सांसदहरुलाई पनि आग्रह गर्छु,’ उनले भने, ‘त्यस्तो बजेटको सिद्धान्तमाथिको छलफलमा भाग नलिऔँ। यस्तो नीति कार्यक्रमको छलफलमा भाग नलिऔँ। यो सरकारको पनि समय बर्बाद हुन्छ, हाम्रो पनि समय बर्बाद हुन्छ। यसलाई बदल्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .