ad ad

राजनीति


‘अमेरिकी साम्राज्यवाद’विरुद्ध जनमोर्चाको मेची-महाकाली अभियान

‘अमेरिकी साम्राज्यवाद’विरुद्ध जनमोर्चाको मेची-महाकाली अभियान

नेपालखबर
जेठ १, २०८० सोमबार १९:२०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले अमेरिकी हस्तक्षेप विरुद्ध ‘मेची–महाकाली’ अभियान सुरु गरेको छ।

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयताको विरोध गरौँ, अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान सफल पारौँ’ भन्ने नारासहित जनमोर्चाले सोमबार महेन्द्रनगर र बागलुङबाट एकै साथ सो अभियान सुरुवात गरेको हो।

१६ दिनसम्म सञ्चालन हुने सो अभियान देशका विभिन्न भागमा कार्यक्रम गर्दै जेठ १५ गते बुटवल र काठमाडौंमा समापन गरिने जनमोर्चाले जनाएको छ।

सोमबार महेन्द्रनगरको मदनचोकमा आयोजित समारोहमा जनमोर्चाका महासचिव मनोज भट्टले पश्चिमी टोलीको उद्घाटन गरे।

सो क्रममा बोल्दै भट्टले अहिले नेपालमा अमेरिकी साम्राज्यवाद पत्यक्ष रुपमा आएको उल्लेख गर्दै यसलाई समयमै रोक्न नसक्ने हो भने देश युक्रेन बन्ने खतरा रहेको औँल्याए।

‘यो अमेरिकी साम्राज्यवादविरुद्धको अभियान हो । यसले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्छ’ उनले भने, ‘नेपालको राजनीतिमा अमेरिकी साम्राज्यवादको प्रभाव बढेर गएको हुनाले र अमेरिकी साम्राज्यावादले जसरी अरु मुलुकलाई नष्ट गर्ने गरेको छ, ध्वस्त गर्ने गरेको छ, त्यो नियत हामीले भोग्न नपरोस् भन्नाका लागि यो अभियान गर्न परेको हो।’

उनले संसदमै अमेरिकी प्रतिनिधिको उपस्थिती रहेको जिकीर गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको डिजाइन अनुसार बनेको दाबी पनि गरे।

सभालाई जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट, जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेता राजाराम चौधरीलगायतले सम्बोधन गरेका थिए।

बागलुङ बजारमा अर्को टोलीको उद्घाटन
जनमोर्चाले मेची–महाकाली पूर्वी अभियानको उद्घाटन बागलुङ बजारमा गरेको छ। जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले एक समारोहबीच अभियानको उद्घाटन गरेका हुन्।

सो अभियान अन्तर्गत आजै पर्वतको कुश्माबजार शिवालय चोकमा कोणसभा गरेको छ। सभालाई राजमो केन्द्रीय सदस्य तथा बागलुङका अध्यक्ष राजेन्द्र ढुङ्गाना, पर्वत जिल्ला अध्यक्ष गोविन्द्र पराजुली र अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले सम्बोधन गरेका थिए।

जनमोर्चाका अनुसार उक्त अभियानका कार्यक्रमलाई दुवै चरणमा दुई दुई टोलीले क्रमशः सम्पन्न गर्ने छन्। महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म महासचिव मनोज भट्टले नेतृत्व गर्नेछन् भने तुल्सिपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन्।

यस्तै, बाग्लुङबाट सुरु भएको दोस्रो भागको पहिलो टोलीको नेतृत्व नेता कृष्ण अधिकारी र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व सचिव हिमलाल पुरीले गर्नेछन्।

देशका अधिकांश जिल्लामा सभा, कोणसभा, सांस्कृतिक कार्यक्रम गरी बुटवल र काठमाडौंमा एकैदिन अभियान समापन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .