ad ad

राजनीति


बीए प्रथम वर्षको नतिजाबारे आरआर क्याम्पस र त्रिविमाथि छानविन होस् : सांसद सापकोटा

बीए प्रथम वर्षको नतिजाबारे आरआर क्याम्पस र त्रिविमाथि छानविन होस् : सांसद सापकोटा

नेपालखबर
जेठ १, २०८० सोमबार १४:३५, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा सुबोधले आरआर क्याम्पसमा अध्ययनरत पाँच सय भन्दा बढी विद्यार्थीहरूको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाएका छन्। 

सो क्याम्पसका ५ सय भन्दा बढी विद्यार्थीहरूको परीक्षाको नतिजामा आन्तरिकतर्फको प्राप्तांकमा अनुपस्थित देखाएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजिएको भन्दै सम्बन्धित निकायसँग छानविन गरी दोषिमाथि कडा कारबाही गर्न उनले सरकारसँग माग गरे। 

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सापकोटाले ढिलो परीक्षा लिने, ढिलो नतिजा निकाल्ने अनि नतिजामा पनि अनुपस्थित देखाउने काम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र आरआर क्याम्पस कसले गरेको हो? भन्दै प्रश्न गरे। 

‘आज ५९औं राष्ट्रिय दिवस, विद्यार्थीहरुले सुखद खवर सुन्नुपर्ने तर आज त्रिभुवन विश्वविद्यालय र आरआर कलेजको लापरबाहीका कारण झण्डै ५ सय विद्यार्थीहरुको भविष्यमै प्रश्न चिन्ह खडा हुने गरी एउटा घटना अगाडि आयो,’ उनले भने, ‘जुन सार्वजनिक मिडियाहरूमा सनसनीपूर्ण ढंगले आएको छ। आरआर कलेजले भन्छ–टियूको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो। टियूको परीक्षा नियन्त्रण कार्यालय भन्छ–आरआर कलेजको कमजोरी भयो। एकले अर्कालाई दोषारोपण गर्ने र ५ सय भन्दा बढी विद्यार्थीहरुको जीवनमाथि खेलबाड हुने कार्य भइराखेको छ।’

विद्यार्थीहरुले छात्रवृत्तिलगायतका अरु पाउने सुविधाबाट बञ्चित रहन सक्ने खतरा पनि उत्पन्न भएको भन्दै सांसद सापकोटाले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। 

‘२ वर्ष अघि हुनुपर्ने परीक्षा ढिलो गरेर २ वर्ष पछाडि भयो। एक वर्ष लगाएर बल्ल परीक्षाको नतिजा सार्वजनिक भयो। त्यो पनि ५ सय विद्यार्थीहरुको नतिजामा अनुपस्थित देखियो। र, के सम्म आएको छ भने आन्तरिक रुपमा विषय शिक्षकले दिएको अंकमा समेत फेरबदल गरियो भन्नेजस्ता आरोपहरुसमेत लागेर समाचार प्रकाशित भएका छन्,’ उनले भने, ‘यसबीचमा ती विद्यार्थीहरूले छात्रवृत्तिलगायतका अरु पाउने सुविधाबाट बञ्चित रहन सक्ने खतरा पनि उत्पन्न भएको छ। त्यसैले म सम्माननीय सभामुखमार्फत सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै यो घटनाको गम्भिर रुपमा छानविन गर्दै दोषीउपर गम्भिर कारबाहीको माग राख्न चाहन्छु।’

सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारबाहीको दायरामा ल्याउने काममा केन्द्रित हुन पनि सम्बन्धित सबै निकायलाई अपिल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .