राजनीति


ज्ञानेन्द्र शाहको टिप्पणी : नेताले आफ्ना निम्ति मात्रै गरे, देश र जनतालाई केही मिलेन

देशको पुरानो गौरव फर्काउन आग्रह
ज्ञानेन्द्र शाहको टिप्पणी : नेताले आफ्ना निम्ति मात्रै गरे, देश र जनतालाई केही मिलेन

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८० बुधबार १८:३५, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह अहिले नागरिक अभिनन्दनका नाममा देशदौडाहामा छन्। केही समय पूर्वी नेपालमा बसेका उनी अहिले लुम्बिनी र कर्णाली प्रदेशमा केन्द्रित छन्। 

बुधबार उनलाई नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको छ। त्यसक्रममा उनले लिखित मन्तव्य दिने क्रममा देशको पछिल्लो अवस्थाबारे राजनीतिक सन्देश पनि छाडे। 

उनले राजनीतिक परिवर्तनपछि पनि देशमा अझै विकास र आर्थिक समुन्नति नभएको भन्दै चिन्ता व्यक्त गरे। 

‘लामो अन्तरालपछि फेरि पनि देशको दशाबारे त्यही र त्यस्तै कुरा गर्न विवश छु। मलाई दुःख लाग्छ लामो अवधिसम्म हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ’, उनले भनेका छन्, ‘देश बनाऊँ, देशवासीको अवस्था सुधारी, व्यवस्था र पद्धति बसालौँ, जनतालाई शान्ति, सुख समृद्धि दिऊँ हाम्रो भावना धारणा र नारा आज पनि यही छ।’ 

उनले नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भएको पनि बताए। 

‘तर अहिले पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिँदैन’, उनले भनेका  छन्, ‘हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो तर बिडम्बना भन्नुपर्छ हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्धारा नेताका निम्ति दलद्वारा दलका निम्ति भइरहेको छ।’

उनले सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यतादेखि लिएर असंलग्न आन्दोलनको सक्रिय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि आफ्ना पिताको पालमा भएको पनि बताए। 

‘तर यता आएर ती पूर्वाधार ती औद्योगिक आधार ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन’, उनले भनेका छन्, ‘भए गरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै चलिरहेछ। त्यसैले ६४ वर्षपूर्वको चेतनाको त्यो झिल्को कता कता अहिलेको खाँचो भै झल्किरहेको छ।’

पूर्वराजा शाहले नेपालको प्रकृति, श्रमशक्ति र बुद्धि गरिव नभए पनि गरिबी नेपालीको नियति भएको बताए। 

‘दुई छाक खान र एकधरो लाउन हामी धेरैलाई धौ धौ छ। हाम्रा विकसित शहर र गाउँ आज उजाड छन्। हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन्। त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण विदेशिन बाध्य छन्’, उनले अगाडि भने, ‘त्यसै भएर त नेपालगञ्ज जस्तो पुरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यर्थाथता देख्न, भोग्न र भन्न बाध्य छौँ।'

उनले अब देशको पुरानो गौरव फर्काउने समय आएको पनि बताए।  ‘अब म भन्छु हामी राष्ट्रको पुरानो गौरव फर्काउन उठौँ, हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ’, उनले थपे, ‘यसको निम्ति के पुरुष के महिला, के आजका जाँगरिलो युवा के अनुभवि बुढाबुढी सबै अब जुट्नु पर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .