ad ad

राजनीति


प्रचण्ड सरकार कायम रह्यो भने देश टाट पल्टिनु अनिवार्य छ : केपी ओली (भिडिओ)

प्रचण्ड सरकार कायम रह्यो भने देश टाट पल्टिनु अनिवार्य छ : केपी ओली (भिडिओ)

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १६:५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन्। 

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा समेत औंल्याए।

‘देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ। देश टाट पल्टिँदैछ। तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा,’ ओलीले भने, ‘एउटा व्यक्तिले चालिस अर्ब थप कमायो। सम्पत्ति बढायो चालिस अर्ब। देशमा अहिले स्थानीय तहमा सम्पुरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो।’

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत समेत गराए।

‘पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो। असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अब १८ महिनाभित्र डेढ वर्षको स्थितिमा, यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरी मुस्लिक हुन्छ,’ ओलीले भने, ‘देश असफल राष्ट्र बन्ने खतरा हुन्छ। यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २/४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब? तिनको समर्थनमा स्टाटस लेखेर समर्थन गर्दै हिँडनेहरुलाई देशको के मतलव।’

ओलीले देश बर्बादीतिर जान लागेको पनि सबैले बुझ्नुपर्ने बताए। 

‘नेकपा एमालेको समयमा दिनमा डबल लेन, फोर लेन, ६ लेनका बाटा बनेपछि ६ किलोमिटरका दरले बाटा तयार हुन्छ भनेपछि निर्माण कार्य धमाधम हुनुपर्छ। पुनर्निर्माणको त्यत्रो कार्य गर्‍यौं हामीले। निर्यात घटेको छ। आयात त पैसा भएको पो मगाउने? त्यस स्थितिमा गइसकेको छ,’ ओलीले थपे, ‘आयात कम भएको देखिए पनि भईराखेको छ भन्सार छलेर। जसले गर्दा भन्सार उठेको छैन। भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको छ। राजस्व कम यो लामो समयपछि भइरहेको छ।’

अहिले तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गइरहेको उनले दाबी गरे।  ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने सम्पूरक बजेट ५० प्रतिशत कटौति गरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .