इरानले गएराति इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि ट्रम्पले उक्त आक्रमणमा अमेरिकी सेना तथा इराकी नागरिक कसैको ज्यान नगएको बताउँदै अमेरिकालाई बल प्रयोग गर्न बाध्य नबनाउन इरानलाई चेतावनी दिए।
अमेरिकी समयअनुसार बुधबार बिहान ११ बजे टेलिभिजनमा सम्बोधन गर्दै ट्रम्पले भने,‘मेरो कार्यकालमा मैले अमेरिकी सेनामा २ दशमलब ५ ट्रिलियन डलर खर्चेको छु। अमेरिकी सेना नयाँ भएका छन्। अमेरिका इतिहासमै शक्तिशाली बनेको छ।
ट्रम्पले इरानलाई आफ्नो कार्यकालमा कहिल्यै परमाणु हतियारको महत्वकाँक्षा नराख्न चेतावनी दिँदै भने,‘अमेरिकालाई इरानको तेल चाहिँदैन, हामी इरान समृद्ध मूलुक बनोस् भन्ने चाहन्छौं। त्यसका लागि इरानले परमाणु महत्वकाँक्षा त्याग्नुपर्छ, आतंकवादीलाई साथ दिन छाड्नुपर्छ।’
आफूहरुसँग हाइपरसोनिक मिसाइल लगायत शक्तिशाली हतियार भएकाले अमेरिका निकै तिव्र भएको ट्रम्पको भनाइ छ। ट्रम्पले भने,‘हामीसँग संसारकै शक्तिशाली हतियार छ यसको मतलब जतापनि प्रयोग गर्नुपर्छ भन्ने होइन। हामी यो प्रयोग गर्न चाहँदैनौं। तर शान्ति खलबलिने गतिविधि आए हामी बल प्रयोग गर्न बाध्य हुन्छौं।’
ट्रम्पले हालै आइएसका नेता अल बगदादीलाई मारेको उदाहरण दिँदै भने,‘बगदादी दानव थिए। उनी विश्वमा शान्ति चाहँदैन थिए। त्यसैले हामीले उनको अन्त्य गर्यौं।’
सो क्रममा ट्रम्पले अमेरिकी कारवाहीमा हालै इरानी सैन्य कमान्डर कासिम सुलेमानी मारिनुको कारण पनि खुलाउँदै भने,‘सुलेमानी नम्बर एक आतंकवादी थिए। उनी हिज्बुल्लाहसहित अन्य आतंकवादीलाई साथ दिन्थे। अमेरिकाविरुद्ध आक्रमणको योजना बनाएकाले हामीले उनलाई आक्रमण गरेका हौं। हामी शान्ति चाहन्छौं यद्ध होइन।‘
सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सेना जस्तोसुकै खतरा पनि सामना गर्न तयार भएको बताउँदै इरानले बुधबारदेखि शान्तिको खोजी गरेको बताए। ट्रम्पले इरान कसरी युद्धको मनसायबाट पछाडि हट्यो भनेर कारण खुलाएनन्।
ट्रम्पले अमेरिका, वेलायत, जर्मनी, फ्रान्स, रुस र चीन मिलेर इरानलाई शान्तिको बाटोमा ल्याउनुपर्ने बताउँदै इरानको शान्ति र समृद्धिको विषयमा सम्झौता गरिनुपर्ने बताए।
नाटो फौजले उत्तर एसियाली क्षेत्रमा शान्तिको लागि अझ सक्रिया भूमिका निर्वाह गर्नुपर्ने पनि ट्रम्पको भनाइ छ।
ट्रम्पले इरान शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताउँदै अमेरिका इरानसँग यस विषयमा सहमति गर्न तयार भएको बताए।
ट्रम्पले इरानले आफ्नो ड्रोन विनाकारण खसाएको र आफ्ना सहयोगी राष्ट्रको तेल ट्यांकर अपहरण गरेको बताउँदै इरानमाथि थप कडा प्रतिबन्धको घोषणा गरे।
इरानले आफ्नो गतिविधि परिवर्तन नगरेसम्म यो प्रतिबन्ध लागू हुने ट्रम्पको भनाइ छ। एजेन्सी

प्रतिक्रिया