राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने आफ्नै कारणले खाली भएको निर्वाचन क्षेत्रमा पुनः विजयी हुने पहिलो उम्मेदवार बनेका छन्।
विसं २०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि निर्वाचितको मृत्यु वा अर्काे पदमा निर्वाचित भएपछि सम्बन्धित निर्वाचन क्षेत्र खाली भएकाले उपनिर्वाचन हुँदै आएका थिए। त्यही कारण आम निर्वाचनमा विजयी उम्मेदवार उपनिर्वाचनमा समेत विजयी भएको रेकर्ड निर्माण हुन सकेको थिएन।
तर, दोहोरो नागरिकताका कारण लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि उनी निर्वाचित चितवन–२ मा उपनिर्वाचन भयो। र, लामिछाने उपनिर्वाचनमा पनि ५४ हजार १ सय ९६ मत सहित विजयी भएका छन्।
यो विजयका साथ लामिछानेले आफ्नो पुरानो चुनावी रेकर्डलाई थप मजबुत समेत बनाएका मात्र छैनन्, नेपालको इतिहासमा सर्वाधिक मतान्तरले विजयी हुने उम्मेदवारको नयाँ रेकर्ड समेत कायम गरेका छन्।
मंसिरमा सम्पन्न आम निर्वाचनमा लामिछाने सबैभन्दा बढी मतान्तरका साथ विजयी हुने उम्मेदवार बनेका थिए। लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गरेका थिए।
विजयी लामिछाने र निकटतम प्रतिद्वन्द्वी श्रेष्ठबीचको मतान्तर ३४ हजार ३ सय १२ थियो।
मत बढाउने क्रममा लामिछानेले यसपटक ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ११ हजार २ सय ९४ मत प्राप्त भएको छ।
विजेता लामिछाने र निकटतम प्रतिद्वन्द्वी श्रेष्ठबीचको मतान्तर ४२ हजार ८ सय २२ छ।

नेपालमा हालसम्म निर्वाचनमा सबैभन्दा फराकिलो रेकर्ड यही नै हो। यसअघि सर्वाधिक मतान्तरले विजयी हुने रेकर्ड हेमबहादुर मल्लको नाममा थियो।
त्यो निर्वाचनमा मल्ल ३९ हजार १ सय ५० मतान्तरसहित विजयी भएका थिए।
धनुषाबाट निर्वाचित हुने दुई राष्ट्रिय पञ्चायत सदस्यमध्ये हेमबहादुर मल्ललाई ९३ हजार १ सय ४९ मत प्राप्त भएको थियो।
दोस्रो बढी मत पाएर शारदा मल्ल विजयी भएकी थिइन्। हेमबहादुर पत्नी शारदालाई ५३ हजार ९ सय ९६ मत प्राप्त भएको थियो। पहिलो बढी मत पाएर विजयी हेमबहादुर र दोस्रो बढी मतका साथ विजयी भएकी शारदाबीचको मतान्तर ३९ हजार १ सय ५० थियो।
हेमबहादुरले प्राप्त गरेको मत (९३ हजार १ सय ४९) अहिलेसम्म कुनै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन्। तर, उनले रेकर्ड बनाएको मतान्तरको रेकर्ड भने लामिछानेले तोडेका छन्।
रविले कायम गरेको मतान्तर ४२ हजार ८ सय २२ छ भने मल्लको मतान्तर ३९ हजार १ सय ५० थियो। यस हिसाबले मल्लले भन्दा ३ हजार ७ सय ३२ बढी मतान्तर रविको नाममा कायम भएको छ।
तर, रविले पञ्चायतको अन्त्यपछिका निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कायम गरेको अर्काे एउटा रेकर्ड भने अझै तोड्न सकेका छैनन्।
बहुदलीय व्यवस्थापछिका आम निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी विजयी हुने उम्मेदवारको रेकर्ड एमाले अध्यक्ष ओलीले बनाएका छन्। २०७४ को निर्वाचनमार्फत् ओलीले यो रेकर्ड बनाएका थिए।
त्यो निर्वाचनमा ओली ५७ हजार १ सय ३९ मत सहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार २ सय ९७ मत प्राप्त भएको थियो।
मंसिरमा सम्पन्न निर्वाचनमा भन्दा झण्डै पाँच हजार बढी मत प्राप्त गरे पनि रविले २०७९ को निर्वाचनमा ओलीले प्राप्त गरेको मतलाई उछिन्न सकेनन्।
Shares

प्रतिक्रिया