ad ad

राजनीति


बारा, चितवन र तनहुँको उपनिर्वाचनका १० फरक दृश्य

बारा, चितवन र तनहुँको उपनिर्वाचनका १० फरक दृश्य

तस्बिर: रासस


केशव सावद
बैशाख १०, २०८० आइतबार १९:४६, काठमाडौँ

चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन सम्पन्न भएको छ।

निर्वाचनमा समग्रमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन्। आयोगका अनुसार बारा क्षेत्र नं. २ मा ६४ प्रतिशत, चितवन क्षेत्र नं. २ मा ६३ प्रतिशत र तनहुँ क्षेत्र नं. १ मा ५३ प्रतिशत मतदान भएको छ। 

गत मंसिर ४ को निर्वाचनमा चितवन–२ बाट विजयी उम्मेदवारको पद खारेज र तनहुँ–१ तथा बारा–२ बाट विजयी उम्मेदवारहरू राष्ट्रपति र उपराष्ट्रपति भएपछि ती क्षेत्रहरूमा उपनिर्वाचन भएको हो।  

नागरिकता विवादमा अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद पद खारेज गरेपछि निर्वाचन आयोगले वैशाख १० का लागि चितवन–२ मा उपनिर्वाचनको मिति घोषणा गरेको थियो। 

यस्तै तनहुँ–१ बाट विजयी प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट विजयी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा विजयी भएपछि उपनिर्वाचन गरिएको हो। 

उपनिर्वाचन हुने ३ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले तनहुँ–१ र चितवन–२ मा र बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो। कांग्रेसले तनहुँमा गोविन्द भट्टराई र चितवनमा जीतनारायण श्रेष्ठलाई अगाडि सारेको छ। गठबन्धनबाट बारा २ को उम्मेदवार बनेका छन् जसपा अध्यक्ष उपेन्द्र यादव। 

नेकपा एमालेले चितवन–२ मा रामप्रसाद न्यौपाने, तनहुँ–१ मा पूर्वआईजीपी सर्वेन्द्र खनाल र बारा–२ मा पुरुषोत्तम पौडेललाई तथा रास्वपाले चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा अर्थविद् डा. स्वर्णिम वाग्ले र बारा–२ मा पूर्व डिआईजी रमेश खरेललाई उम्मेदवार बनाएका थिए। 

बारा–२ मा मधेस प्रदेशमा पकड रहेको जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ। उनी उपनिर्वाचनको मुखमा माओवादी केन्द्र परित्याग गरेर जनमत पार्टीमा प्रवेश भएका थिए। 

उपनिर्वाचनका क्रममा आइतबार तीनवटै जिल्लामा केही फरक दृष्यहरू देखिएका थिए। ती दृष्यहरू यस्ता छन्:

भरतपुरमा हात हालाहाल 
चितवनको भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेका कार्यकर्ताहरूबीच हात हालाहाल भयो। सभापति लामिछाने मतदानस्थल पुग्दा कार्यकर्ताले उनको पक्षमा नाराबाजी गरेपछि हात हालाहाल भएको हो। 

बिहान साढे ११ बजेदेखि ३ बजेसम्म उक्त मतदान केन्द्रमा मतदान रोकिएको थियो। रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि एमालेका कार्यकर्ताले विरोध गरेका थिए। 

त्यसक्रममा दुई पक्षबीच झडप भएको थियो। नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो।

रवि लामिछानेको फेसबुक लाइभ
राष्ट्रिय स्वतन्त्र पार्टी(राप्रपा)का सभापति रवि लामिछानेले नयाँकिरण माविमा मतदान प्रभावित भएपछि फेसबुक लाइभ गरेर आफू मतदानस्थलमा जाने अवस्था नरहेको बताए। 

‘विभिन्न मतदान केन्द्रमा गएर मतदाता भेट्ने र मतदान अधिकृतसँग जानकारी लिने, मतदातासँग कुराकानी गर्ने कोसिसमा थिएँ,’ रास्वपाबाट उम्मेदवारसमेत रहेका उनले भने, ‘तर, स्थिति त्यति सहज नभएपछि म अहिले घर फर्किएको छु।’

उनले लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज गरे इतिहासले मूल्यांकन गर्नेसमेत स्मरण गराए। 

‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षलाई यदि तपाईंहरूले नजरअन्दाज गर्नुभयो र हुलहुज्जत, गुण्डागर्दी, डरत्रास, धम्की जस्ता कुराको साहारा लिनुभयो भने इतिहासले यसको मूल्यांकन गर्ने छ,’ लामिछानेले भने।

रास्वपाले माफी मागेपछि अवरुद्ध मतदान सुचारु
राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेपछि चितवनको नयाँ किरण माविमा मतदान सुचारु भयो।

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविमा बिहान साढे ११ बजेदेखि रोकिएको मतदान दिउँसो ३ बजेपछि सुरु भएको थियो। रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए। 

त्यसक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो। झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो।

बारा–२ मा बुथ कब्जा भएको सीके राउतको आरोप
जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ का केही मतदान केन्द्रमा आफ्नो दलका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिइएको आरोप लगाए।

अध्यक्ष राउतले पचरौता नगरपालिकाको बेलडाँडी र देवतालको झिगैया मतदान केन्द्रमा जनमतका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिएको आरोप लगाएका हुन्। 

सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले प्रहरी–प्रशासनकै संलग्नतामा दुई मतदान केन्द्र कब्जा गरिएको आशंका आफूलाई लागिरहेको राउतले दाबी गरे।

‘आफूहरूले हिजोदेखि नै बुथ कब्जा हुने पहिले नै जानकारी गराएको थिएँ,’ राउतले भनेका थिए, ‘तर प्रहरी–प्रशासनकै संलग्नतामा बुथ कब्जा गर्ने प्रयास भइरहेको छ।’ 

एमालेको पनि आरोप 
जनमत पार्टीका अध्यक्ष सीके राउतपछि एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले पनि बारा–२ का ठाउँठाउँमा धाँधली भएको आरोप लगाए।

मतदान चलिरहेका बेला उनले प्रहरी प्रशासनकै मिलेमतोमा एकपक्षीय मतदान गराएको भन्दै त्यस्ता गतिविधि रोक्न माग गरे। 

उम्मेदवार पौडेलले बारा–२ का इनरवा, सनफुलवा, सिँचाइ बुथलगायतमा प्रहरीका सई र असई नै गठवन्धनको पक्षमा मतदान गराउन लागेको उनले आरोप लगाए। बुथ कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुप देखिएको उनको गुनासो थियो।

सीके राउतपछि एमाले उम्मेदवार पौडेलले भने : बारा २ का ठाउँ ठाउँमा धाँधली भयो

जसपाका केन्द्रीय सदस्य पक्राउ
मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा–२ को देवताल गाउँपालिका–७ मा रहेको जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव पक्राउ परे। उनी देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समिति सदस्य पनि हुन्।

स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता–कार्यकर्ताहरूले नाराबाजी गरेका थिए। तत्कालै थप सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि मतदानमा अवरोध हुन पाएन। 

मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले उपनिर्वाचन प्रचार प्रसारका क्रममा निर्वाचनको निष्पक्षतामाथि असर पर्ने गरी आचारसंहिताविपरीत कार्य गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। 

आयोगले आइतबार बारा–२ मा मतदान कार्य भइरहेका बेला निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना आचारसंहिताविपरीत कार्य गरेको र निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो? भनेर स्पष्टीकरण सोधेको हो। 

आयोगले त्यहाँ जानुको कारण पनि सोधेको छ। ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन?,’ आयोगले भनेको छ, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने?’

उम्मेदवारलाई नै स्पष्टीकरण
आयोगले तनहुँ–१ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले उनलाई स्पष्टीकरण सोधेको हो।

मौनअवधि सुरु भइसकेपछि वैशाख ७ गते राति १२ पछि मोबाइलबाट ‘भ्वाइस म्यासेज’ पठाएर मत मागेको भन्दै उजुरी परेकाले भट्टराईलाई स्पष्टीकरण सोधिएको समितिले जनाएको छ। 

लामिछानेविरुद्ध कांग्रेसको उजुरी
चितवन–२ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मतदान सम्पन्न हुँदै गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

मतदान भइरहेको बेलामा लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ।

उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आदेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ।

मत घट्यो
उपनिर्वाचन भएका क्षेत्रमा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको भन्दा कम मत खसेको छ। 

निर्वाचन आयोगले कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडाको भूगोल समेटेर चितवन निर्वाचन क्षेत्र नम्बर २ निर्धारण गरेको छ।  

चितवन–२ मा कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठले उम्मेदवारी छन्। यहाँ एमालेका तर्फबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवार छन्। 

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ मा प्रत्यक्षतर्फ ४९ हजार ३ सय मतका साथ लामिछाने विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९८८ र एमाले नेता कृष्णभक्त श्रेष्ठले १४ हजार ६५२ मत पाएका थिए।

तनहुँका देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडाको भूगोल समावेश गरेर तनहुँ–१ निर्धारण गरिएको छ। 

मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसबाट तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एकबहादुर रानामगरले १९ हजार ९८१ प्राप्त गरेका थिए। 

स्वतन्त्र उम्मेदवार जोशी (जोशी समूहका नेता गोविन्दराज) ६ हजार ८८६ मत ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देल ६ हजार ४४ मतका साथ चौथो भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए।  

बाराका कोल्हवी नगरपालिकाको ८ नम्बर वडा, करैयामाई, महागढीमाई, पचरौता, सुवर्ण र देवताल गरी ५ गाउँपालिकाको भूगोल निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ। यहाँ सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाह चुनावी प्रतिष्पर्धामा छन्। 

गत मंसिर ४ मा बारा–२ बाट जसपाका रामसहाय प्रसाद यादव १३ हजार ८२२ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। तत्कालीन समयमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका कुशवाह ३५४ मतको झिनो अन्तरले पराजित भएका थिए। 

उनले १३ हजार ४६८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत प्राप्त गरेका थिए। 

यो क्षेत्रबाट विजयी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा जनमत पार्टीले माओवादी परित्याग गरेर पार्टीमा आएका नेता कुशवाहलाई उम्मेदवार बनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .