ad ad

राजनीति


तनहुँमा त्रिपक्षीय प्रतिस्पर्धा, छोराको भविष्यका लागि स्वर्णिमलाई सघाउँदै जोशी

जोशी समूह भन्छ– चुनावको दुई दिनअघि मात्रै निश्चित हुन्छ हारजित
तनहुँमा त्रिपक्षीय प्रतिस्पर्धा, छोराको भविष्यका लागि स्वर्णिमलाई सघाउँदै जोशी

तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारहरु


केशव सावद
बैशाख ४, २०८० सोमबार २१:६, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी छोरा दीपक जोशीको राजनीतिक भविष्य बलियो बनाउन आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सघाउने मनस्थितिमा पुगेका छन्। कांग्रेसले कारबाही फुकुवा गर्दा पनि उनले वैशाख १० को उपचुनावमा रास्वपालाई नै सघाउने आन्तरिक तयारी गरेका छन्।  

जोशी समूहले रास्वपालाई सघाउने भएपछि तनहुँ–१ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ उपनिर्वाचनमा कांग्रेस, नेकपा एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुँदैछ।

‘तनहुँमा नेपाली कांग्रेस र नेकपा एमालेको आफ्नै भोट बैंक छ। रास्वपाको उम्मेदवार राम्रा छन्। उनको परफमेन्स बढ्दै गएको छ,’ जोशी समूहका एक प्रभावशाली नेता भन्छन्, ‘जितहारको बारेमा चुनाव हुनुभन्दा दुई दिनअघि निश्चित हुन्छ। अहिलेको माहौलले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा नै देखिन्छ।’

तनहुँ–१ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाल र रास्वपाले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएका छन्। उपनिर्वाचनका लागि रास्वपा र आफ्नो समूहबीच ‘सफ्ट एग्रिमेन्ट’ भइसकेको जोशी समूहका ती नेताले पुष्टि गरेका छन्। 

‘हामी कुनै पार्टीमा नरहेका स्वतन्त्र हौँ। स्वतन्त्र भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्छौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँहरुसँग एक चरणमा हाम्रो छलफल भइसकेको छ। अघोषित रुपमा हामी स्वर्णिम (वाग्ले)जीलाई सहयोग गर्छौँ।’ 

जोशी समूहमा आबद्ध स्रोतका अनुसार नेता जोशीका छोरा दीपक रास्वपाको पक्षमा चुनावी वातावरण निर्माण गर्न दमौलीमा बसेर आफूनिकटका नेता–कार्यकर्ताहरुसँग पछिल्ला दिनहरुमा भेटघाट र छलफल गरिरहेका छन्। नेता जोशी पनि अहिले तनहुँमै छन्। 

जोशीनिकट अर्का नेता पनि तनहुँको अहिलेको चुनावी वातावरण त्रिपक्षीय प्रतिस्पर्धामय देखिएको बताउँछन्। 

‘रविजीको प्रभाव निम्न मध्यमवर्गीय मतदातामा पर्छ। स्वर्णिमजीले बौद्धिक वर्गलाई प्रभाव पार्नु हुन्छ। उहाँको भोट अलि बढेको छ,’ ती नेताले भने, ‘फेरि उहाँ कांग्रेसबाटै आउनुभएकोले कांग्रेसका केही मत तान्नु हुन्छ नै। एमाले–माओवादीबाट पनि तान्नु हुन्छ। अहिले हेर्दा चुनाव त्रिपक्षीय नै देखिन्छ।’

तर, ती नेता कांग्रेसको मत काट्न नसके जोशी समूहले सघाउँदैमा रास्वपा उम्मेदवार वाग्लेको पक्षमा चुनावी नतिजा आउन कठिन हुने पनि बताउँछन्। रास्वपाका पक्षमा चितवनमा जस्तो लहर तनहुँमा नआउने उनको बुझाइ छ। 

‘तनहुँ काठमाडौँ, चितवनजस्तो जिल्ला होइन। यो कन्जरभेटिव जिल्ला हो। यो फरक निर्णय आउने जिल्ला होइन,’ जोशी समूहको बुझाइ छ, ‘स्वर्णिमजीको माहौल राम्रो छ। तर, कांग्रेसको भोट काट्न सक्नु भएन भने हामीले सघाउँदैमा जित्ने अवस्था देखिँदैन।’ 

यद्यपि, तनहुँ–१ मा कांग्रेसका मतदाताहरुले नै वाग्लेको पक्षमा मत दिने वातावरण बनेकोमा भने जोशी समूह उत्साही देखिन्छ। 

‘कांग्रेसका परम्परागत भोटरले भोट दिने वातावरण बनेको छ, जुन राम्रो पक्ष हो,’ जोशी समूह भन्छ, ‘त्रिपक्षीय भिडन्त हुनु भनेको स्वर्णिमजीको जित हो।’

गत मंसिर ४ मा सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार तनहुँ–१ मा कांग्रेसको पक्षमा २८ हजार ४३२ मत छ। जसमा कांग्रेस एक्लैको २० हजार १५८, नेकपा माओवादी केन्द्रको ७ हजार ३२६ र नेकपा एकीकृत समाजवादीको ९५० मत छ। यहाँ समानुपातिकतर्फ एमालेले १६ हजार ६८३ र रास्वपाले ७ हजार ६३२ मत पाएका थिए। 

निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी एकबहादुर रानामगरले १९ हजार ९८१ प्राप्त गरेका थिए। 

स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी ६ हजार ८८६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका उम्मेदवार विकास सिग्देल ६ हजार ४४ मतका साथ चौथो भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए।

जोशी समूह मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्राप्त गरेको झण्डै ७ हजार मत रास्वपामा जाने दाबी गर्छ। जोशी समूहको ७ हजार, मंसिर ४ मा पाएको ६ हजार मत एकत्रित गर्दै कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीबाट मत तानेर उपनिर्वाचन जित्नेमा रास्वपा आशावादी देखिन्छ। 

तर, कांग्रेस भने मंसिर ४ मा जोशी समूहले पाएको ७ हजार मत पूरै रास्वपाको पक्षमा नजानेमा ढुक्क देखिन्छ। तत्कालीन समयमा पौडेल (हाल राष्ट्रपति)सँग विमति रहेकाहरुले जोशीको पक्षमा मत दिए पनि यसपल्ट कांग्रेसमै मत खस्ने कांग्रेसको बुझाइ छ। 

‘राष्ट्रपतिज्यू सक्रिय राजनीतिमा हुँदा कहीँ कतै गुटका कारण उहाँसँग अनेकथरीका विमति थिए होलान्। त्यस कारण कतिपयले उहाँलाई मत नदिएर जोशीलाई हाले,’ पौडेलसँग निकट रहेका एक नेता भन्छन्, ‘यसपल्ट गोविन्द (भट्टराई) दाइ उम्मेदवार हुनुहुन्छ। उहाँसँग कसैको विमति नहोला नि। आधाआधी मत फर्किन्छ।’

प्रतिनिधि सभा सदस्यका लागि वैशाख १० मा तनहुँ–१ सँगै चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदै छ। मंसिर ४ को निर्वाचनमा चितवन–२ बाट विजयी उम्मेदवारको पद खारेज र तनहुँ–१ तथा बारा–२ बाट विजयी उम्मेदवारहरू राष्ट्रपति र उपराष्ट्रपति भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।  

रास्वपाका सभापति रवि लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण निर्वाचन आयोगले वैशाख १० का लागि चितवन–२ मा उपनिर्वाचनको मिति घोषणा गरेको थियो। 

यस्तै तनहुँ–१ बाट विजयी प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट विजयी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा विजयी भएपछि सोही मितिमा उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचन हुने ३ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले तनहुँ–१ र चितवन–२ मा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गरेको छ भने बारा–२ मा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सघाएको छ। 

प्रतिनिधि सभाको ठूलो दल कांग्रेसले तनहुँ–१ र चितवन–२ मा हुने उपनिर्वाचनमा महामन्त्रीहरूलाई ‘कमान्डर’का रूपमा तैनाथ गरेको छ। यद्यपि, यसबारे औपचारिक निर्णय भने कांग्रेसले गरेको छैन। 

कांग्रेसले औपचारिक निर्णयबिना नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई क्रमशः चितवन–२ र तनहुँ–१ मा उम्मेदवारी दर्ता कार्यक्रममा पठाएको थियो। 

थापा तनहुँ–१ का उम्मेदवार केन्द्रीय सदस्य गोविन्द भट्टराई र शर्मा चितवन–२ का उम्मेदवार पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठको उम्मेदवारी मनोनयनमा सहभागी भएका थिए। 

तनहुँ–१ मा भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् वाग्ले रास्वपाबाट उम्मेदवार बनेका र चितवन–१ मा श्रेष्ठविरुद्ध रास्वपाकै सभापति लामिछाने उम्मेदवार रहेकाले उपनिर्वाचन कांग्रेसका लागि चुनौतीपूर्ण देखिएको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .