अमेरिकाले इराकमा रहेका आफ्ना सेना अहिल्यै फिर्ता नहुने बताएको छ।
अमेरिकी सैन्य जेनेरलले पत्र लेख्दै इराकबाट सेना फिर्ता हुनुपर्ने भनेर दिएको सुझाव अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका हुन्।
बीबीसीका अनुसार अमेरिकी रक्षामन्त्रीले इराकबाट अहिले नै फौज फिर्ता गर्ने बेला नभएको बताएका छन्।
इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी संकल्प प्रस्ताव पारित गरेपछि ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले ‘आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने’ लेखिएको थियो।
तर उक्त पत्र ‘अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने’ प्रतिक्रिया अमेरिकी रक्षामन्त्रीले दिएका हुन्।
अमेरिकी सेनाका एकजना वरिष्ठ सैन्य अधिकारीले पनि उक्त पत्रको ‘भाषा नमिलेको र गल्तीले पठाइएको’ बताएका छन्।
इराकमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको हत्यापछि अमेरिकी सेनालाई खतरा बढेकाे छ।
राष्ट्रपति ट्रम्पको आदेशमा गत शुक्रबार सुलेमानी मारिएका थिए। इरानले यसको बदला लिने बताएको छ।
त्यसयता मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ।
इराकको संसद्ले पारित गरेको संकल्प प्रस्ताव त्यहाँको सरकारका लागि बाध्यकारी भने हुँदैन। तर इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताइसकेका छन्।
राष्ट्रपति ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू चेतावनी दिएकाे बीबीसीले उल्लेख गरेकाे छ।
Shares

प्रतिक्रिया