ad ad

राजनीति


कमल थापाको टिप्पणी : इसाईकरणले किरातीहरुको पहिचानको मुद्दा कमजोर भयो

कमल थापाको टिप्पणी : इसाईकरणले किरातीहरुको पहिचानको मुद्दा कमजोर भयो

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०७९ बुधबार १५:२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वी नेपालका किराती समुदायहरुलाई पहिले धर्म परिवर्तनको डढेलो रोक्न आग्रह गरेका छन्। 

कोशी प्रदेश नामाकरणको विरोधमा एक महिनाभन्दा लामो समयदेखि आन्दोलन जारी रहेका बेला थापाले यस्तो बताएका हुन्। 

उनले केही किराती नेताहरु र संस्थाले चलाएको आन्दोलनबारे आफ्नो टिप्पणी नभए पनि पहिचानको अधिकार खस्किँदै जानुको कारण भने दिएका छन्। 

'केही किराती नेता र संस्थाहरुले चलाइरहनु भएको आन्दोलनप्रति मेरो कुनै टिप्पणी छैन। त्यो उहाँहरुको संविधानप्रदत्त अधिकार हो', उनले भनेका छन्, 'तर, उहाँहरुसँग मेरो अनुरोध छ, उहाँहरुले खोजिरहेको पहिचानको आधार विस्तारै खस्किँदै गएकोबारे समेत जानकारी वा चेतना राखिदिनु भए बेस हुनेथियो।'

उनले  किरात वा लिम्बु पहिचानको आधार मुन्धम, किरात धर्म संस्कृति र परम्परा भएको पनि स्मरण गराएका छन्। 

किराती र लिम्बु समुदायमा सल्किएको क्रिश्चियन धर्म परिवर्तनको डढेलोले उनीहरुले उठाउँदै आएको पहिचानको मुद्दा विस्तारै कमजोर हुँदै गएको थापाले बताएका छन्। 

'विगत केही वर्षयता भइरहेको योजनावद्ध र संगठित धर्मपरिवर्तनको डढेलोको सबैभन्दा बढी नकरात्मक प्रभाव किरात समुदायमा परेको छ', उनले भनेका छन्, '२०६८ को जनगणनामा कुल जनसंख्याको ३ प्रतिशत रहेको नेपालको तेस्रो किरात धार्मिक समुदाय पछिल्लो जनगणनाअनुसार करिव १.५ प्रतिशतमा खुम्चेर पाँचौ स्थानमा झरेको अनुमान गरिएको छ।'

उनले नेपालमा हिन्दु र बुद्धिष्टहरुको संख्या पनि निकै घटेको दाबी गरेका छन्। 'यस्तो संवेदनशील विषयमा दल, संसद, सरकार र धार्मिक सांस्कृतिक संस्थाको गम्भीर ध्यान गएको देखिन्न', उनले भनेका छन्, 'किरात धर्म संस्कृति र किरात/लिम्बुहरुको पहिचान नै सकिएपछि प्रदेशको नामाकरणको अर्थ नै के रहन्छ र?  यसबारे ध्यान दिन सम्बद्ध सबैसँग आग्रह गर्दछु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .