राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अडिओ सार्वजनिक हुनासाथ आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्न पार्टीलाई निर्देशन दिएको बताएका छन्।
रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। जसमा आफू मन्त्री बन्न लागेको र सभापति लामिछानेका मान्छेले आफूसँग २ देखि अढाई करोड पैसा मागेको दाबी श्रेष्ठले गरेका छन्।
आइतबार दिउँसो बारामा आयोजित चुनावी सभामा बोल्दै सभापति लामिछानेले भने, ‘त्यो अडिओ सार्वजनिक हुनेबित्तिकै पार्टीलाई निर्देशन दिएको छु– ७२ घन्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर। ७२ घन्टाको अल्टिमेटम दिएको छु।’
आफूले अल्टिमेटम दिएको २ घण्टा बितेको र अब ७० घण्टा मात्र बाँकी रहेको लामिछानेले बताए।
‘७० घण्टामा सत्यतथ्य छानबिन गरेर कारबाही गर्न सकिनँ भने यही गढीमाईमा पुरिदिनुहोला’, उनले भने।
उनले अगाडि थपे, ‘त्यो अडिओमा भनिएको रहेछ– मेरा वरपरका मान्छेले मागेका रहेछन् भनेर, ती मेरा वरपरका माग्ने मान्छेहरू को रहेछन्? तिनलाई तपाईंको आँगनमा सडकमा घिसारेर ल्याउन सकिनछु भने तपाईंले भनेको सजाय दिनुहोला ७० घण्टाभित्र।’
Shares

प्रतिक्रिया