ad ad

राजनीति


चितवनमा सबै दल निर्वाचन लक्षित कार्यक्रममा व्यस्त

चितवनमा सबै दल निर्वाचन लक्षित कार्यक्रममा व्यस्त

नेपालखबर
चैत २४, २०७९ शुक्रबार ११:१३, काठमाडौँ

चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्। स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन्।
 
सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिकरुपमा आजदेखि घरदैलो कार्यक्रम सुरु गर्दै छन्। 

कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी दर्तासँगै प्रचारप्रसार सुरु गरेको भए पनि औपचारिक रुपमा आजदेखि घरदैलो गरिँदै छ।
 

जिल्लामा हुन लागेको निर्वाचन केका कारणले हो भन्ने विषयमा समेत मतदातालाई प्रष्ट पार्दै घरदैलो गरिने श्रेष्ठले जानकारी दिए। 

‘आजदेखि घरदैलो सुरु भएको छ। हामीले जनताको विश्वास र मत दुवै पाउने विश्वास छ,’ उनले भने।

घरदैलो कार्यक्रमका लागि कांग्रेस शीर्ष नेतृत्व जिल्ला आउने कार्यक्रम रहेको छ। कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालगायतका नेता घरदैलो कार्यक्रममा सहभागी हुन जिल्ला आउने कार्यक्रम रहेको उनले जानकारी दिए। 

सत्ता गठबन्धनले भरतपुर महानगरपालिका–३ बाट घरदैलो कार्यक्रमको सुरुआत गर्दै छ।


 
नेकपा (एमाले) चितवनले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–१ हात्तीवाङबाट घरदैलो अभियान सुरु गर्न लागेको एमालेका जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिए।

नेकपा एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उनले बताए। 

मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने दाउँमा एमाले रहेको उनले बताए। उनका अनुसार एमालेका नेता गोकुल बास्कोटा निर्वाचन समय अवधिभर जिल्लामा रहनेछन। 

घरदैलो कार्यक्रमसँगै निर्वाचन लक्षित अन्य कार्यक्रम समेत गरिने पाठकले जानकारी दिए। घरदैलोका क्रममा कोणसभासमेत गरिने छ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रता भेटघाटलाई तीव्र पारेका छन्। 

उाका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो। मनोनयन दर्तासँगै दलका नेता कार्यक्रर्ता भेटघाटलगायत काममा व्यस्त भइरहेको उनले बताए।

कालिका नगरपािलका–५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिँदै सिग्देलले रास्वपाले घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए।

घरदैलोका क्रममा कोणसभा केही स्थानमा हुने उनको भनाइ छ।
 
सत्तागठबन्धनसहित तीन दलहरु र अन्य साना दलहरुले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमलाई तीब्र बनाएका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जिल्लामा आएर आफ्नो पार्टीका चुनावी कार्यक्रममा सहभागी भएका छन्। 

अन्य साना दल र स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रसारमा जुटिरहेका छन्।
 
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो।

लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्।

उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .