ad ad

राजनीति


उपनिर्वाचनका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै

उपनिर्वाचनका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै

नेपालखबर
चैत २२, २०७९ बुधबार ८:१८, काठमाडौँ

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज प्रकाशन गरिँदै छ। 

निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी र त्यसविरुद्ध परेका उजुरीको जाँचबुझ गर्नेछ र आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ। 

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २  र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ। त्यसका लागि सोमबार तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको थियो। उम्मेदवारहरूविरुद्ध उजुरीका लागि मंगलबार समय छुट्याइएको थियो। 

यस क्रममा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन्। सोअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनेको छ। 

बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ताका लागि आयोगले समय तोकेको छ। सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन्।  

गत मंसिर ४ को चुनावमा तनहुँ–१ बाट प्रतिनिधिसभा निर्वाचित तत्कालीन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–१ बाट निर्वाचित तत्कालीन जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भई गृहमन्त्रीसमेत बनिसकेका रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणका कारण पदबाट हटेपछि ती क्षेत्र रिक्त भएका हुन्। त्यसैले वैशाख १० गते ती तीनै क्षेत्रमा उपनिर्वाचन गरी पुनः प्रतिनिधिसभा सदस्य चयन गर्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .