राजनीति


ज्ञानेन्द्रको नागरिक अभिनन्दन : ‘श्री ५’ लेखिएका ब्यानर हटाइयो, इनरुवामा कडा सुरक्षा

कार्यक्रमका लागि प्रशासनले दिएन लिखित अनुमति
ज्ञानेन्द्रको नागरिक अभिनन्दन : ‘श्री ५’ लेखिएका ब्यानर हटाइयो, इनरुवामा कडा सुरक्षा

इनरुवामा पूर्वराजाको स्वागतमा टाँगिएका ब्यानर


नेपालखबर
चैत २०, २०७९ सोमबार १३:३६, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरिने भएपछि सुनसरी सदरमुकामा इनरुवामा सुरक्षाव्यवस्था कडा बनाइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितले अहिले गरिरहेको नागरिक अभिनन्दनका क्रममा तनाव हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सदरमुकाम क्षेत्रको सुरक्षा कडा बनाइएको जानकारी दिए।

'कार्यक्रम छ भन्ने सुनेका छौँ, हाम्रो जिम्मेवारी हरेक नागरिकको सुरक्षा हो', उनले भने, 'कार्यक्रम हुने जानकारी आएको छ। कार्यक्रम रोकेको भन्ने होइन।'

राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको नेतृत्वमा सोमबार एक कार्यक्रमबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो। 

कार्यक्रम आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा अनुमति मागे पनि पाएनन्। 

स्थानीय प्रशासनले यसबारे केन्द्र सरकारसँग कुरा गरेको थियो। तर केन्द्र सरकारले पूर्वराजाको अभिनन्दन कार्यक्रमलाई अनुमति नदिएको हो।

यसअघि आइतवार साँझ ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रमको ब्यानरमा 'श्री ५ को सरकार' लेखेको ब्यानर स्थानीय प्रशासनले प्रहरी लगाएर हटाइदिएको थियो। 

सादा पोशाकमा खटिएका प्रहरीले राजा र श्री ५ लेखिएका ब्यानहरु अभिनन्दनका लागि बनाइएका गेटबाट हटइदिएपछि आयोजक रुष्ट भएका छन्। 

ब्यानर हटाइएपछि आयोजकमध्ये एकजना राप्रपा नेता रामु पोखरेलले भने, 'स्वागत गेट लगायतका स्थानमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकार लेखिएको तुल व्यानर स्थानीय प्रशासनको निर्देशनमा सादा पोशाकका प्रहरी परिचालन गरि हटाउन लगाएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ।'

यसैबीच कोशी प्रदेशविरुद्धको आन्दोलन चर्किरहेकाले प्रशासनले पूर्वराजालाई हिँडेर नागरिकसँग संवाद गर्न पनि रोक लगाएको छ।

राप्रपासहित आयोजकहरुले प्रशासनको यो कदमलाई अभिव्यक्तिको स्वतन्त्रताविरुद्धको कदम भनेका छन्। 

'जनताले आफ्नो मनको राजालाई राजा भनेर ब्यानरमा अभिव्यक्त गर्न किन प्रतिबन्ध?', पोखरेलले भनेका छन्, 'कति कमजोर धरातलमा उभिएको रहेछ यो गणतन्त्रको आवरण?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .