प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय गठबन्धनमा रहेका तराई–मधेस केन्द्रित दलहरुबाट ५ जनाको प्रतिनिधित्व गराउने सम्भावना देखिएको छ।
तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी, (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट ५ जनाको सरकारमा प्रतिनिधित्व हुने सम्भावना देखिएको हो।
प्रधानमन्त्री प्रचण्डले जसपालाई दुई र अन्य तीन दललाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी गरेका छन्।
मन्त्रिपरिषद्मा जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी सहभागी भएको छैन। जनमत पार्टी अहिले पनि सरकारमा छ। उसका मो. अब्दुल खान अहिले खानेपानी मन्त्री छन्।
गत पुस १० गते बनेको तत्कालीन सात दलीय गठबन्धनबाट जनमतले खानलाई सरकारमा पठाएको थियो।
प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा जसपाबाट संघीय परिषद् अध्यक्ष अशोक राई मन्त्री हुने निश्चित जस्तै छ। उनी सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
राईले सरकारको नेतृतव गरेर जाने सम्भावना धेरै रहेको जसपाका एक नेताले जानकारी दिएका छन्। उनी पार्टीमा तराई–मधेशको सन्तुलन मिलाउनुपर्ने भएकाले राई सरकारमा जाने सम्भावना अधीक भएको बताउँछन्।
‘पहाडको पनि सन्तुलन मिलाउनु पर्नेछ। त्यसमाथि अशोक राई शीर्ष नेता पर्नुभयो,’ उनले नेपालखबरसँग भने, ‘उहाँलाई पठाउन पार्टीभित्र पनि दबाब छ। उहाँ जाने सम्भावना बढी छ।’
यद्यपि यसबारे पार्टीले निर्णय भने गरिनसकेको उनले बताए। ती नेताले जसपाको भागमा दुई मन्त्रालय पर्ने र अर्को मन्त्रीका रुपमा मधेशी क्लस्टरबाट कुनै एक सांसदलाई पठाइने पनि जानकारी दिए।
‘एकजना अशोक राई भइहाल्नुभयो। अर्का एकजना मधेशी क्लस्टरबाट मन्त्री बन्नुहुन्छ,’ उनले थपे
लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी मन्त्री बन्ने चर्चा छ। उनी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर, लोसपाले सरकारमा पठाउने नाम टुंग्याएको छैन।
‘कुन मन्त्रालय भागमा पर्छ टुंगो लागेको छैन। त्यो तय भएपछि पार्टी बैठक बसेर सरकारमा सहभागी हुने नेताबारे निर्णय हुन्छ,’ भण्डारीले नेपालखबरसँग भने।
लोसपाका अर्का नेता केशव झा पनि सरकारमा पठाउने नेताको टुंगो लाग्न बाँकी रहेको बताउँछन्। ‘हाम्रा चारजना सांसद छन्। अध्यक्ष जानु हुन्न,’ उनले भने, ‘बाँकी तीनैजना माननीयहरु सम्भावित हुनुहुन्छ। को सरकारमा जाने टुंगिन बाँकी छ।’
सत्ता गठबन्धनको नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ नै सरकारमा जान लागेकी छन्।
यद्यपि, उनको मन्त्रालय टुंगो लागिसकेको छैन। नागरिक उन्मुक्तिले संस्कृति पर्यटन अथवा वन तथा वातावरण मन्त्रालय लिन चासो देखाएको छ।
विस्तार हुन लागेको मन्त्रिपरिषद्मा अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने उक्त नागरिक उन्मुक्तिका महासचिव रतन थापाले नेपालखबरलाई जानकारी दिए।
‘सरकारमा जाने कुरा निश्चित छ, हाम्रो पार्टीका अध्यक्षलाई हामी पठाउँछौँ,’ उनले भने, ‘मन्त्रालयको टुंगो लागेको छैन, हाम्रो माग मुद्दाको कुरा पनि छ, त्यो सम्बोधन हुनुपर्छ।’
उनका अनुसार प्रधानमन्त्री प्रचण्ड नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिन तयार छन्। तर, थप एउटा राज्यमन्त्रीसमेत पाउनुपर्ने उसको अडान छ। बालुवाटार स्रोतका अनुसार श्रेष्ठ मन्त्री बन्न तयार छिन्।
प्रतिक्रिया