प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् विस्तारको अन्तिम होमवर्कमा छन्।
प्रधानमन्त्रीले १० दलीय गठबन्धनका दलहरूसँग चरण–चरणमा छलफल गरेर मन्त्रालय बाँडफाँटको समझदारी जुटाउन लागेको बालुवाटारनिकट स्रोतले बताएको छ।
मन्त्रिपरिषद विस्तारका लागि पहिलो चरणमा नेपाली कांग्रेससँग प्रधानमन्त्रीको छलफल हुँदैछ। ८ वटा मन्त्रालय कांग्रेसले पाउने समझदारी बने पनि अर्थ र गृहमा भने अझै कुरा मिलेको छैन।
प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुसँग छलफल गरेर सहमति जुटाउने योजना बनाएका छन्।
बालुवाटारमा आइतबार अपरान्हपछि कांग्रेस नेताहरूसँग छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
त्यसलगत्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग पनि आजै छलफल गर्ने बताइएको छ। एकीकृत समाजवादीले पनि गृह मन्त्रालयमा दाबी गरेको छ। तर गृह माओवादी आफैंले राख्ने योजना बनाएको छ।
एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार दिएर माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याउने तयारी प्रचण्डको छ।
नेताहरूका अनुसार एकीकृत समाजवादीलाई दुईवटा विकासे मन्त्रालय दिने निश्चित छ। तर, उसले कम्तिमा ३ मन्त्रालय दाबी गरेको छ।
उता, जनता समाजवादी पार्टी (जसपा) लाई पनि सरकारमा सामेल गराएर अघि बढ्ने प्रचण्डको तयारी छ। जसपाले २ वटा मन्त्रालय पाउनेछ।
कम्तिमा ९ दललाई सरकारमा सामेल गराउनेगरी प्रचण्ड अघि बढेका छन्।
‘प्रधानमन्त्रीसँग अर्थ र गृहजस्ता मन्त्रालय राख्नुपर्ने रहेछ,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले थपे, ‘अहिले पाएका मन्त्रालय कायमै राख्ने कुरा छ।’
अन्य साना दललाई कम्तीमा १ मन्त्रालय दिएर सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ।
यसका लागि गठबन्धन दलको बैठक बसेर यसबारे औपचारिक निर्णय लिने गजुरेलले बताए।
कांग्रेसले उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति गरिसकेको छ। उसले एमालेले छाडेका ८ वटा मन्त्रालयमा आफूहरुको दाबी रहने पनि जनाएको छ।
उता, शनिबार दिउँसो बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले एउटा मन्त्रालय थपिनसक्ने ब्रिफिङ गरेका थिए।
प्रतिक्रिया