नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अब हुन लागेको उपनिर्वाचनमा कसैको सहयोगबिना आफ्नो पार्टीको उम्मेदवार उठाएर देखाउन नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई चुनौती दिएका छन्।
एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाको गृहजिल्ला काभ्रे पुगेर आरजुले आफ्नो जितमा ‘सूर्यमुखी कांग्रेस’को हात रहेको टिप्पणी गरेपछि बाँस्कोटाले जवाफ फर्काएका हुन्।
‘आरजु भाउजूले कांग्रेसलाई निकै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ’, एमालेको मिसन ग्रासरुट अभियानका क्रममा चितवन खटिएका बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू, तत्कालै हुन लागेको उपचुनावमा बिनावैशाखी चारतारे उम्मेदवार उठाएर देखाउनुस् त!’
शनिबार कांग्रेसको भ्रातृ संगठन तरुण दलको कार्यक्रममा आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको दाबी गरेकी थिइन्।
गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा बाँस्कोटाले काभ्रे क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई हराएका थिए।
Shares
प्रतिक्रिया