नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन्।
भैँसीको अगाडि बिन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनेका हुन्।
उनले सरकारले आफूहरुले दिएको सुझावको मतलव नै नराख्ने जिकिरसमेत गरे।
अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दीगोपनाका लागि अवैध रुपमा भित्रिने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याए।
त्यसैगरी उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए।
‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा भन्छ नि : भैंस के आगे विन बझाए, भैंस रहे पगुराए। भैंसीको अगाडि विन बजायो भने उग्राएर बस्छ। केही मतलव राख्दैन, अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि त्यस्तै हो', उनले भने, 'हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्यौट गर्नु एउटै कुरा हो। तपाईंहरुको अघि मैले भने नि, ५०/५३ प्रतिशत त लुटेकै छ नि। अब त्यो रोकिन्न।'
उनले स्वदेशी उत्पादनले अहिलेसम्म संरक्षण नपाएको बताए। 'त्यसलाई संरक्षण दिनु पर्छ। त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था बनाउनुपर्छ', उनले भने, 'यसमाथिको भ्रष्ट हस्तक्षेप, नेपाली उत्पादनको भ्रष्ट हस्तक्षेप त्यो व्यापारिक क्षेत्र र सरकारी क्षेत्रबाट भएको छ। त्यसलाई रोक्नु पर्दछ।’
ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिन सरकारले नै उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए।
प्रतिक्रिया