राजनीति


मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा भएन सहमति, भोलि पनि बैठक

मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा भएन सहमति, भोलि पनि बैठक

फाइल तस्वीर


नेपालखबर
चैत ८, २०७९ बुधबार १९:३७, काठमाडौँ

मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयले सैद्धान्तिक रुपले प्रवेश पाएको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मन्त्रिपरिषद् विस्तारको विषयले बैठकमा सैद्धान्तिक रुपमा प्रवेश पाएको जानकारी दिए।

‘सैद्धान्तिक रुपमा प्रवेश पाएको छ,’ मन्त्रिपरिषद् विस्तारबारे बैठकमा भएको छलफल बारे जानकारी दिँदै उनले भने, ‘भोलि फेरि बस्नु हुन्छ। क्रमैसँग टुंग्याउने भन्ने छ।’

मल्लले संघीय मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारका बारेमा पनि प्याकेजमै सहमति गर्ने बारे शीर्ष नेताहरु एकमत देखिएका पनि जानकारी दिए। ‘सरकारमा कति दलहरु सहभागी हुने भन्ने बारेमा टुंगो छैन,’ उनले भने, ‘प्रदेशहरु पनि मिलाउने पर्ने छ। प्याकेज मै सहमति खोज्ने भन्ने छ।’

प्रधानमन्त्री प्रचण्ड चैत १० गतेसम्म मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्। उनले चैत ६ गते प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ११ दलहरुबाट विश्वासको मत लिएका थिए। विश्वासको मत दिने दलहरुले धेरै मन्त्रालयमा दाबी गरिरहेका कारण मन्त्रालय भागबण्डामा अप्ठेरो पर्ने देखिएको छ। 

प्रतिनिधि सभाको ठूलो दल कांग्रेसले १०, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ३/३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले २/२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन्।      

कांग्रेस महामन्त्री गगन थापा विश्वासको मत दिने दलहरुको संख्या र सरकारमा जान चाहेका दलहरु धेरै भएका कारण मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने बताउँछन्।

‘मन्त्रिपरिषद् विस्तार एकदमै गाह्रो छ। थोरै मन्त्रालयहरु छन्, धेरै दलहरु छौँ,’ उनी भन्छन्, ‘दलहरुभित्र पनि आकांक्षीहरु धेरै हुनुहुन्छ। त्यसैले केही दिन त लाग्छ नै।’

बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल भएको जानकारी दिए।

‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ,’ बैठकपछि उनले भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल भएको छ।’

लेखकले सरकारलाई विश्वासका मत दिएका दलहरु मध्ये कसले कति र कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा छलफल नभएको पनि बताए।

‘आज भर्खरै छलफल प्रारम्भ भएको छ। त्यस कारण यसले यति मन्त्रालय भन्ने कुरा भइसकेको छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .