नेकपा (मसाल) ले दोहोरो राहदानीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सफाई दिने प्रहरी र महान्यायाधिवक्ता समेतको निर्णयप्रति आपत्ति जनाएको छ।
गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डको मातहमा रहेको अवस्थामा रास्वपाको विश्वासको मतप्राप्त गर्न प्रहरी प्रशासन तथा महान्यायाधिवक्ता समेतमाथि दबाब दिएर यस प्रकारको निर्णय गर्न लगाएको मसालको आरोप छ।
महामन्त्री मोहनविक्रम सिंहद्वारा मंगलबार जारी विज्ञप्तिमा रवि लामिछानेको नागरिकता र पासपोर्ट भन्दा पनि अमेरिकापरस्त राजनीति गम्भीर विषय भएको भन्दै उनको गतिविधिले नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच आउने बताइएको छ।
विज्ञप्तिमा भनिएको छ :
कथित स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको दोहोरो राहदानीको मुद्दामा उनलाई सफाइ दिने प्रहरीदेखि महान्यायाधिवक्ता समेतको निर्णयलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसको कडा शब्दमा भर्त्सना गर्दछ।
यो कुरा स्पष्ट छ कि त्यस प्रकारको रवि लामिछानेलाई सफाइ दिने निर्णय कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीको आधारमा नै गरिएको हो। अहिले गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डको मातहमा नै छ। उनले कथित स्वतनत्र पार्टीको विश्वासको मत प्राप्त गर्न नै कानुन र न्याय समेतलाई मिचेर प्रहरी प्रशासन तथा महान्यायाधिवक्ता समेतमाथि दबाब दिएर यस प्रकारको निर्णय गर्न लगाएको कुरा बुझ्न गाह्रो पर्दैन।
रवि लामिछानेको दोहोरो राहदानीको सन्दर्भमा अहिले जुन निर्णय गरिएको छ, त्यो गलत ता छ नै तर अहिले उनको सन्दर्भमाउनको नागरिकता र राहदानीबारे जुन विवाद उठेको छ, त्योभन्दा गम्भीर र राजनीतिक महत्वको प्रश्न यो हो कि उनको राजनीतिक दल अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको हो। त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आच पुग्ने कुरा प्रष्ट छ। त्यो राजनीतिक संगठनको सन्दर्भमा यो नै प्रधानपक्ष हो। तर दुःखको कुरा यो हो कि, त्यसप्रति नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा बाहेक अन्य राजनीतिक दल, सञ्चार माध्यम र बुद्धिजीवीहरू समेतको ध्यान गएको पाइँदैन।
त्यही सन्दर्भमा अहिले माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले समेत उनीप्रति अपनाएको सम्झौतापरस्त नीति गम्भीर चिन्ताको विषय हो र त्यो नीतिका दीर्घकालीन दुष्परिणामहरू हुने कुरा निश्चित छ। हाम्रो पार्टीले कथित स्वतन्त्र पार्टीको त्यस प्रकारको अमेरिकी साम्राज्यवादपरस्त चरित्र र त्यसका गतिविधिका विरुद्ध उच्च सतर्कता अपनाउन सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ।
२०७९ चैत्र ०७ गते।
मोहनविक्रम सिंह
महामन्त्री
Shares

प्रतिक्रिया