ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, ११ दलको समर्थन

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, ११ दलको समर्थन

नेपालखबर
चैत ६, २०७९ सोमबार ६:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन्।

उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उहाँले विश्वासको मत लिनुहुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।
 
राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।
 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय तयार भएको गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ
 
माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन रहने विश्वास गरिएको छ।

प्रधानमन्त्रीलाई  विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्नेछ। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन्। 

प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .