शुक्रबार दिउँसो संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइपुगे।
ढिलोगरी संसद भवनमा उनी छिर्दै गर्दा अधिकांश संघीय र प्रदेश सांसदहरु परिसरमा गफ गरेर बसिरहेका थिए।
तिनै सांदहरुको भिडमा थिए एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका कोशी प्रदेशका सांसद राजेन्द्रकुमार राई।
पूर्वमुख्यमन्त्रीसमेत रहेका राई अन्य सांसदसँग गफिँदै गर्दा ओली गाडीबाट ओर्लिए। गाडीबाट ओर्लिएका ओलीलाई राईले नमस्कार गर्दै संसद भवनमा स्वागत गरे।
एमालेबाट एकीकृत समाजवादीमा गएका नेतामध्ये राई ओलीका कट्टर आलोचक पनि हुन्। एमाले छाडेपछि मुख्यमन्त्री हुनेमा उनी र बागमतीका राजेन्द्र पाण्डे हुन्।
कुनै बेलाका आफ्ना कार्यकर्तालाई भेटेपछि ओलीले राजनीतिक कुरा गरेनन्। राई भोजपुरको षडानन्द नगरपालिकाका बासिन्दा हुन्।
उनले बालागुरु षडानन्दले दिङ्ला क्षेत्रमा रोपेर फैल्याएको रुद्राक्षको माला लगाएका थिए। उनले दाहिने हातमा लगाएको रुद्राक्षको मालाबारे ओलीले चासो राखे। त्यसपछि राईले बहुउपयोगी रुद्राक्षको प्रचारका लागि आफूले लगाएको जवाफ दिए। त्यसबीचमा उनीहरुले हाँसो ठट्टा पनि गरे।
दुईजनाबीच कुरा भइरहँदा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा पनि मिसिन पुगे। 'होइन आज राजेन्द्रसँगको भेटघाट जुराइ भयो त', यसो भन्दै खतिवडा अघि बढे।
त्यसपछि ओलीले बुढीऔँला उठाउँदै ठीक छ भन्ने संकेत गरेर कांग्रेसतिर कटाक्ष गरे। 'खतरा पैदा भयो', ओलीले भने। त्यसपछि खतिवडाले ठट्टा गर्दै, 'अरुलाई खतरा पैदा भयो कि हजुरलाई खतरा पैदा भयो?', भन्दा सांसदहरुबीच हाँसो चलेको थियो।
भिडिओ
Shares
प्रतिक्रिया