ad ad

राजनीति


उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये कसको मत कति?

उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये कसको मत कति?

सागर न्यौपाने
चैत २, २०७९ बिहिबार २१:५२, काठमाडौँ

नेपालमा अहिलेसम्म भएका उपराष्ट्रपति चुनावमा हरेक पटक चार जनाको उम्मेदवारी पर्ने गरेको छ। २०६५, २०७२ र २०७९ सम्मका तीन वटा चुनावमा चार जना उम्मेदवार छन्। 

२०६५ साउन ६ मा भएको पहिलो चुनावमा र अघिल्लो पटकको उपराष्ट्रपति चुनाव (२०७२ कात्तिक १४) मा केही उम्मेदवारले समय घर्किसकेपछि उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए। जसका कारण मतपत्रमा उनीहरुको नाम कायम रह्यो।

२०७२ कात्तिक १४ मा भएको उपराष्ट्रपति चुनावमा माओवादीबाट नन्दबहादुर पुन, नेपाली कांग्रेसबाट अमियकुमार यादव, स्वतन्त्र सभासद् अतहर कमाल मुसलमान र नेपाल परिवार दलका दयाराम कँडेलले उम्मेदवारी दिएका थिए। मुसलमान र कँडेलले अन्तिममा नाम फिर्ता लिए।

कात्तिक १४ गतेको चुनावमा पुन र यादवबीच प्रतिस्पर्धा भयो। त्यसबेला ५ सय ९६ जना मतदाता थिए।  तर, मधेशी दलका ४७ जनाले चुनाव बहिष्कार गरेका थिए। चुनावमा कुल ५ सय ४७ मत खसेको थियो। १० मत बदर भयो। 

एमाले–माओवादी गठबन्धनका उम्मेदवार पुनले ३ सय २५ मत पाएर सजिलै जित निकाले। यादवले २ सय १२ मत ल्याए। 

यसपटकको (२०७९ चैत ३) उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र बिहीबार सार्वजनिक गरेको छ। 

त्यसबेला बहिष्कार गरेका मधेशकेन्द्रित दलहरुबाट अहिले तीन जना उम्मेदवार छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।

अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ।

त्यस आधारमा चुनावी परिणाम लगभग निश्चित रहेको जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले दाबी गरे। 

प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले उपराष्ट्रपतिमा मत दिन पाउँछन्। अहिले प्रतिनिधि सभामा २ सय ७३ सदस्य छन्। राष्ट्रिय सभामा ५९ सदस्य छन्। यिनीहरुको कुल मतभार २६ हजार २ सय २८ हुन आउँछ। 
यस्तै प्रदेश सभामा ५५० सदस्यको २६ हजार ४ सय मतभार छ। दुवैतिरको मतभार ५२ हजार ६ सय २८ हुन्छ। 

उपराष्ट्रपति निर्वाचित हुन कुल मतभारको बहुमत ल्याउनुपर्छ। यसको बहुमत २६ हजार ३ सय १४ ल्याउने उम्मेदवार उपराष्ट्रपतिमा निर्वाचित हुन्छ। 

राप्रपाले चुनावमा भाग नलिने निर्णय गरेको छ। 

त्यसमध्ये नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा माओवादी केन्द्रका वर्षमान पुन बिरामी भएकोले उपचारका लागि मुलुकबाहिर छन्। प्रतिनिधि सभाका रवि लामिछाने र टेकबहादुर गुरुङ निलम्बित छन्। 

जसपा चुनाव जित्नेमा ढुक्क छ। 

‘उपराष्ट्रपतिमा हाम्रा उम्मेदवार रामसहायप्रसाद यादव जित्ने निश्चित छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत पाउँछौँ।’

चार दलबीच यादवलाई जिताउने निर्णय भएको उनले दाबी गरे। 

‘उहाँहरुले दलको बैठक बसेर जिताउने निर्णय नै गर्नु भएको छ,’ उनले थपे, ‘त्यही भएर हामी ढुक्क छौँ।’

चुनावमा कांग्रेसबाट एक जना निलम्बित र उपचारका लागि भारतमा रहेका चन्द्र भण्डारीको मत पर्ने देखिँदैन। त्यसो हुँदा सो पार्टीबाट १६ हजार ६३ मतभार खस्न सक्छ। यस्तै माओवादीबाट ७ हजार ५ सय ७०, एकीकृत समाजवादीबाट २ हजा ५७४ र जसपाको आफ्नै २ हजार १४५ र राष्ट्रिय जनमोर्चाको २०६ मतभार रामसहायप्रसाद यादवले पाउने उनको दाबी छ। 

‘हामीले पहिलो चरणमै रामसहायप्रसाद यादवको पक्षमा २८ हजार ५ सय ५८ मतभार पाएर जित निकाल्छौँ,’ अधिकारीले जिकिर गरे। 

जसपाबाटै अर्की महिला उम्मेदवार पनि छिन प्रमिला कुमारी। उनले विज्ञप्ति निकालेर उम्मेदवार नरहेको घोषणा गरे पनि कानुनी रुपमा कायमै छ। 

‘उहाँ त हाम्रै पार्टीको हो नि, त्यसमाथि फिर्ता भइसकेको छ, सांसदहरुले त्यति कुरा नबुझ्ने कुरै भएन,’ अधिकारीले थपे।

उपराष्ट्रपतिकी उम्मेदवार रहेकी एमालेकी अष्टलक्ष्मी शाक्यलाई माओवादी र एकीकृत समाजवादीबाट यसपटक क्रस मत पर्ने विश्वास एमालेको छ।

शाक्यले एमालेको १५ हजार २३३ मत भार पाउने निश्चित छ। त्यसबाहेकको मतबारे एमालेकै नेताहरु ढुक्क भएर भन्न सक्दैनन्। 

‘गोप्य मतदान हुने हो, अष्टलक्ष्मी शाक्यको राजनीतिक इतिहास कति लामो छ, उहाँ रामसहायभन्दा सिनियर हो,’ एमालेका एक पदाधिकारीले भने, ‘केही दलबाट मत क्रस हुन्छ। अहिले नाम नलिऔं।’

जनमत पार्टीबाट ममता झा उम्मेदवार छिन्। उनलाई लोसपा (९१७) जनमत पार्टी (१२४२) र नागरिक उन्मुक्ति (८१३) ले साथ दिनसक्ने सम्भावना छ। त्यसो हुँदा यी तिनै दलको २ हजार ९७२ मतभार पाउने देखिन्छ। 

जनमतका नेता विपि साहले भने, ‘लोसपा, नागरिक उन्मुक्ति र हाम्रो मत त पाउँछौँ, अहिले रास्वपासँग पनि छलफल भइरहेको छ। रास्वपाले रामसहायप्रसाद यादवलाई मत नदिने भएपछि हामीलाई सहयोग गर्ने औपचारिक अनौपचारिक छलफल भएको छ।’ 

रास्वपाको १५०१ मतभार छ।

बिहीबार दिनभर गठबन्धनबाट कांग्रेस, जसपाका नेताहरुले जनमतको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरेका थिए। 

‘आजै रातिसम्म एउटा निष्कर्षमा पुग्नेगरी छलफल भइरहेको छ,’ जनमतका नेता साहले थपे, ‘उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ तर, हामी उम्मेदवारी कायम राख्छौँ। प्रतिस्पर्धामा जान्छौं। आम चुनाव पनि एक्लै लडेका हौँ।’

१४ वर्षपछि फेरि उपेन्द्रकै पार्टीबाट उपराष्ट्रपति!
यदि रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए १४ वर्षपछि उपेन्द्र यादवको अर्काे जित हुनेछ। 

२०६५ साउन ६ गते राष्ट्रपति र उपराष्ट्रपतिको चुनावी कार्यतालिका थियो। त्यसबेलाको सबैभन्दा बलियो पार्टी माओवादीले राष्ट्रपतिमा एमालेका महासचिव माधवकुमार नेपाललाई सघाउने सहमति गरेको थियो।

तर, साउन २ गते माओवादीले एमालेलाई राष्ट्रपति दिन नसक्ने भन्दै रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनायो। उता तत्कालीन मधेशी जनाधिकार फोरमले उपराष्ट्रपतिमा समर्थन गरे राष्ट्रपतिमा सहयोग गर्ने अडान राख्यो। फोरमको अडान पनि माओवादीले मानेन। 

माओवादीको निर्णयले बिच्किएको एमाले र फोरम एकैठाउँमा उभिए। कांग्रेस पनि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएको भन्दै माओवादीसँग रुष्ट थियो। जसले गर्दा कांग्रेस, एमाले र फोरम एकै ठाउँमा उभिए र साउन ४ गते नयाँ गठबन्धन बन्यो।

कांग्रेसले राष्ट्रपति लियो र रामवरण यादवलाई उम्मेदवार बनायो। फोरमबाट उपराष्ट्रपतिमा परमानन्द झा उम्मेदवार बने। संविधान सभा अध्यक्ष एमालेले पायो। सुवास नेम्वाङ अध्यक्ष बनाइए। 

यद्यपि उम्मेदवारी मनोनयन भइसकेकोले एमालेकी अष्टलक्ष्मी शाक्य र कांग्रेसका मानबहादुर विश्वकर्माको नाम कायमै भयो। 

उपराष्ट्रपतिमा फोरमका झाले ३०५ मत ल्याई विजयी भए। माओवादी उम्मेदवार शान्ता श्रेष्ठले २४३ मत मात्र पाइन्। कांग्रेसका विश्वकर्माले २ र शाक्यलाई ४ मत खस्यो।  त्यसबेला २४ मत बदर भयो। 

१४ वर्षअघिकै जस्तो नतिजा दोहोर्याउने दाउमा त्यसबेलाको उपेन्द्र यादव छन्। 

त्यतिबेला कांग्रेस, एमाले र फोरम मिलेर माओवादी विरुद्ध मोर्चाबन्दी गरेका थिए। अहिले भने एमालेविरुद्ध मोर्चाबन्दी छ। 

उपराष्ट्रपति जितेको अवस्थामा उपेन्द्रको संसद् यात्रा फेरि तय हुनेछ। उनी उपनिर्वाचन लड्ने योजनामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .