उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दालाई आफूहरूले ठूलो रुपमा र सामान्य रूपमा पनि नलिएको बताएका छन्।
बुटवल-नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त जिज्ञासामा यसो भनेका हुन्।
'प्रधानमन्त्री प्रचण्डविरुद्ध जुन ब्यहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन,' उनले भने, 'सत्यनिरूपण तथा मेलमिलाप, वेपत्ता छानबिन आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्याय छिटै सम्पन्न होस् भन्ने अदालतको सदाशयता हो भने हामीले त्यससम्बन्धी विधेयक संसदमा टेबुल गरिसकेका छौँ।'
उनले उपराष्ट्रपतिको चुनाव सकिएलगत्तै सरकारको विस्तार र पुनर्गठन हुने जानकारी दिए। नौ दलीय गठबन्धनको वर्तमान सरकार स्थिर र प्रभावकारी हुने बताउँदै उनले पार्टीबाट पठाइएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे केही नसोचेकोसमेत उल्लेख गरे।
बुटवल-नारायणगढ सडक विस्तारले अपेक्षित गति लिन नसक्दा जनताले सास्ती खेप्नुपरेको पत्रकारको जिज्ञासालाई मन्त्री श्रेष्ठले गम्भीरतापूर्वक लिएको बताए।
समयमै र गुणस्तरीय रूपमा काम सक्न चिनियाँ निर्माण कम्पनीलाई पटक-पटक ताकेता गरिएको बताउँदै उनले मन्त्रालयबाटै अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको मन्त्री श्रेष्ठले बताए।
Shares

प्रतिक्रिया