नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको हित विपरित चल्न खोजे सैह्य नहुने चेतावनी दिएका छन्।
अध्यक्ष ओलीले राष्ट्र र जनताको हितविपरीत चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरुले सफल हुन नदिने बताए।
सुखानीका सहीदहरुको स्मृतिमा आईतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुने समेत बताए।
ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दावी समेत गरे।
२०६५ सालमा राजतन्त्रको अन्त्य भएको बताउँदै उनले त्यसमा माओवादीको हात नभएको पनि उल्लेख गरे।
'तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरुकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न मिल्दैन', उनले भने, ‘२०५२ सालपछि त राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारिए। नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए? बहुदलीय व्यवस्था आएकै थियो। के को लागि मारिए त भन्दा अनौठो छ।'
उनले गणतन्त्रका लागि भनिए पनि त्यस्तो नभएको जिकिर गरे। '०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो। ०६३ सालमा बृहत शान्ति सम्झौता भयो कात्तिकमा', उनले भने, '०६५ सालमा गएर राजतन्त्र संविधानसभाले हटायो भने जनयुद्धले त हटाएन होला? जनयुद्धबाट कब्जा त गरेको होइन होला त? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र?’
अध्यक्ष ओलीले आफूहरुले वास्तविक सहीदहरुको मात्रै सम्मान गर्ने पनि बताएका छन्।
प्रतिक्रिया