राजनीति


तलब सुविधा उच्चस्तरिय आयोगको प्रतिवेदन प्रधानमन्त्रीले बुझ्दै भने– कर्मचारीको सुविधा कम हुँदा खतरा बढ्छ

तलब सुविधा उच्चस्तरिय आयोगको प्रतिवेदन प्रधानमन्त्रीले बुझ्दै भने– कर्मचारीको सुविधा कम हुँदा खतरा बढ्छ

तस्बिर : प्रधानमन्त्रीको सचिवालय।


नेपालखबर
फागुन २०, २०७९ शनिबार २१:७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन्।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिए।

‘तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागिसमेत सहयोग पुग्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘शासन व्यवस्था भनेकै आखिरमा दण्ड र पुरस्कारको असल अभ्यास नै हो। हाम्रो कर्मचारी प्रशासनमा समेत त्यो कुरा लागू गर्नुपर्दछ।’

कर्मचारीहरूको सेवा सुविधा कम हुँदा कार्यक्षमतामा ह्रास आउने प्रधानमन्त्रीले बताएका थिए। 

‘अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहन्छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘तलबले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा कि त विदेसिनुपर्ने कि त वित्तीय अराजकता वा लामो हात गर्ने ठाउँमा पुगेका उदाहरण पनि हामीकहाँ छन्। त्यसैले आजको परिस्थिति र आवश्यकताअनुसार कर्मचारीहरूको तलवमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ।’

उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको पनि प्रचण्डले बताएका थिए। 

‘हामी उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा छौँ, यो प्रतिवेदनले त्यसलाई समेत मद्दत पुग्ने देखेको छु’ प्रधानमन्त्रीले भने, ‘देशका लागि कति कर्मचारी आवश्यक हो, कुन कुन संरचना आवश्यक हो, त्यसको उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ। यसो नगर्दा राज्यलाई ओभरलोड हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ।’

उक्त प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषयहरू संघीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझावहरू तत्काल कार्यान्वयनमा लैजाने बताए।

प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लिलामणि पौडेलले ‘नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकहरूमा कर्मचारीहरूको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धि नयाँ प्रस्ताव, उपचार खर्च, विदासम्बन्धि व्यवस्था, कर्मचारी आवाससम्बन्धि व्यवस्था, यातायात सुविधासम्बन्धि व्यवस्था र वर्तमानमा देखिएका बेथितिहरूको नियमनसम्बन्धि व्यवस्था, कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलव र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने बिकल्पहरू, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव, सामाजिक सुरक्षा भत्ता र राजश्व छुट सम्बन्धि नयाँ व्यवस्थाका लागि प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धि राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमन, कर्मचारीहरूको कार्यबिवरणको मूल्यांकन लगायतका विषयहरू प्रतिवेदनमा समेटिएको’ जानकारी दिए।

गत भदौ ६ गते पूर्व मुख्यसचिव पौडेलको संयोजक र विमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरि गठन भएको आयोगलाई ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad