ad ad

राजनीति


बंगलादेशका गोलम सरवर सार्कको नयाँ महासचिव

बंगलादेशका गोलम सरवर सार्कको नयाँ महासचिव

सन्तोष घिमिरे
फागुन १७, २०७९ बुधबार १८:३१, काठमाडौँ

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशका वरिष्ठ कूटनीतिज्ञ गोलम सरवर नियुक्त हुने भएका छन्। 

कूटनीतिक स्रोतका अनुसार बंगलादेशको विदेश मन्त्रालयले सरवरलाई सार्कको १५ औँ महासचिवका रुपमा नियुक्त गर्ने निर्णय लिएको हो। 

‘सरवरको नियुक्तिबारे सार्क सचिवालयलाई एक साताअघि जानकारी गराइसकिएको छ,’ काठमाडौँस्थित बंगलादेशी दूतावासका एक कूटनीतिज्ञले बुधबार नेपालखबरसँग भने। 

उनका अनुसार बंगलादेशको विदेश मन्त्रालयले सरवरको नामबारे अफगानिस्तान बाहेकका सार्कका अन्य सदस्य देशलाई पत्र लेखेर जानकारी गराइसकेको छ। परराष्ट्र मन्त्रालय स्रोतले सरवरको नाम बंगलादेशका तर्फबाट नयाँ सार्क महासचिवका रुपमा पठाइएको जानकारी दियो। बंगलादेशका केही संचारमाध्यमले पनि सरवरलाई बंगलादेशको विदेश मन्त्रालयले नयाँ सार्क महासचिव नियुक्त गर्ने निर्णय गरिसकेको जनाएका छन्।

अफगानिस्तानले पाएन सार्कको महासचिव 
वर्तमान सार्क महासचिव इसाला रुवन विराकुनको पदावधि यहीसाता सोमबार सकिएको थियो। उनको स्थानमा बंगलादेशका तर्फबाट नयाँ महासचिव नियुक्ति प्रस्ताव भएको हो। विराकुन श्रीलंकाली कूटनीतिज्ञ हुन्। उनले सन् २०२० मार्च महिनामा कार्यभार सम्हालेका थिए। 

वर्णानुक्रमअनुसार सार्कको नयाँ महासचिव अफगानिस्तानले नियुक्त गर्न पाउनुपर्ने थियो। तर अफगानिस्तानमा डेढ वर्षअघि आएको नयाँ तालिवान सत्तालाई सार्कका कुनै पनि सदस्य देशले मान्यता नदिएका कारण सार्कको महासचिव पद अफगानिस्तानलाई नदिने सहमति डेढ साताअघि सार्कका सदस्य देशका बीचमा भएको थियो। वर्णानुक्रमअनुसार अफगानिस्तानले महासचिव नियुक्त गर्न नपाउँदा बंगलादेशले आफ्ना कूटनीतिज्ञ नियुक्त गर्ने अवसर पाएको हो। 

सार्कको वर्तमान अध्यक्ष मुलुक नेपालले नयाँ महासचिव नियुक्तिका सम्बन्धमा अफगानिस्तान बाहेकका अन्य सार्क सदस्य देशसँग छलफल चलाएको थियो। परराष्ट्रसचिव भरत राज पौड्यालले सार्क सदस्य देशका आफ्ना समकक्षीसँग भिडिओ कलमार्फत् निरन्तर संवाद गरेका थिए। 

‘अफगानिस्तानलाई छोडेर बंगलादेशका तर्फबाट महासचिव नियुक्त गर्ने नेपालको प्रस्तावलाई सार्कका सदस्य देशले सहमति जनाए। त्यसैअनुसार अहिले बंगलादेशले आफ्ना कूटनीतिज्ञको नाम प्रस्ताव गरेको हो,’ सार्क सचिवालय स्रोतले नेपालखबरसँग भन्यो। 

भारतका विदेश सचिव विनयमोहन क्वात्राको हालैको नेपाल भ्रमणमा पनि क्वात्रा र पौड्यालबीच नेपाल र भारतका अन्य द्विपक्षीय विषयसँगै सार्कमा महासचिव नियुक्तिका बारेमा समेत कुराकानी भएको थियो। 

को हुन् सरवर? 
प्रस्तावित महासचिव सरवर हाल बंगलादेशका तर्फबाट मलेसियास्थित उच्चायुक्त छन्। उनले विगतमा काठमाडौंस्थित बंगलादेशको दूतावासमा काम गरिसकेका छन्। सन् १९९० मा विदेश सेवामा प्रवेश गरेका सरवरले बंगलादेशका तर्फबाट स्विडेनमा राजदूतका रुपमा काम गरिसकेका छन्। त्यसैगरी उनले बिभिन्न समयमा म्यानमार, अमेरिका, साउदी अरेबियास्थित बंगलादेशका नियोगहरुमा काम गरे। 

विगतमा बंगलादेशले दुई पटक सार्क महासचिव नियुक्त गरिसकेको छ। सन् १९८५ मा सार्क स्थापना भएलगत्तै बंगलादेशका तर्फबाट त्यहाँका विदेशसचिव अब्दुल एहसान सार्कको पहिलो महासचिव बनेका थिए। त्यसैगरी सन् २००२ देखि २००५ सम्म बंगलादेशकै अर्का कूटनीतिज्ञ क्यूएएमए रहिमले सार्कका महासचिवको रुपमा काम गरेका थिए। 

मृतप्रायः सार्क ब्युँतिने संकेत छैन 
सार्कमा नयाँ महासचिव नियुक्तिबारे सार्क सदस्य देशबीच सहमति भएपनि अवरुद्ध सार्क प्रक्रियालाई गति दिने विषयमा कुनै प्रगति भएको छैन। सार्क प्रक्रिया ठप्प हुँदा ८ वर्षयता सार्क शिखर सम्मेलन हुन सकेको छैन। 

सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन नेपालमा भएको थियो। त्यसपछि पाकिस्तानमा सार्क शिखर सम्मेलन गर्ने भनिए पनि सीमापार आतंकवादका विषयमा भारत र पाकिस्तानबीच तनाव सिर्जना भएपछि सार्क सम्मेलन हुन नसकेको हो। भारतले सार्कअघि बढाउन नचाहेको पाकिस्तानको आरोप छ भने पाकिस्तानले भारतलक्षित आतंकवाद नरोकेकाले सार्क अघि बढ्न नसकेको भारतको जिकिर छ। 

सार्कको अध्यक्ष रहेको नेपालले न त भारतलाई सार्क शिखर सम्मेलन आयोजनाका लागि मनाउन सकेको छ, न त अन्य सदस्य देशसँग त्यसबारे सार्थक छलफल नै चलाउन सकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .