राजनीति


धर्ती-आकाश जोडिए पनि रामचन्द्र पौडेल राष्ट्रपतिमा हार्नुहुन्न : प्रदीप पौडेल

धर्ती-आकाश जोडिए पनि रामचन्द्र पौडेल राष्ट्रपतिमा हार्नुहुन्न : प्रदीप पौडेल

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १५:१, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले धर्ती–आकाश जोडिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचनमा पराजित नहुने दाबी गरेका छन्। 

नवलपरासी–२ मा मंगलबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित रहेको दाबी गरेका हुन्।

‘उहाँ राष्ट्रपति हुने निश्चित छ। चाहिनेभन्दा झण्डै ७ हजार मत अहिले आठ दलीय गठबन्धनमा छ,’ नेता पौडेलले भने, ‘कतिले यहाँ चमत्कार गर्छौं भन्नुभएको छ, धर्ती र आकाश जोडिएला अब कांग्रेस राष्ट्रपतिमा हार्दैन।’

संवैधानिक मर्यादाभित्र रहेर देशको अभिभावक भएर काम गर्नुहुन्छ भनेर कांग्रेसले पौडेललाई राष्ट्रपति बनाउन खोजेको उनको भनाइ छ।  

‘हामीले उहाँलाई राष्ट्रपति किन बनाउन खोजेको हो भने हिजो विद्यादेवी भण्डारीज्यूले जस्तो गरी उहाँले संविधान मिच्नु हुन्न,’ पौडेलले भने, ‘संवैधानिक मर्यादाभित्र रहेर काम गर्नुहुन्छ। देशको अभिभावक बन्नु हुन्छ। कांग्रेस नभएर राष्ट्रपति भएर काम गर्नुहुन्छ भनेर उहाँलाई राष्ट्रपति बनाउन खोजेको हो।’

उनले राष्ट्रपतिमा निर्वाचित भएपछि वरिष्ठ नेता पौडेलले कांग्रेससँगको सम्पूर्ण सम्बन्ध तोड्नु पर्नेमा पनि जोड दिए। 

‘राष्ट्रपति भएपछि उहाँ कांग्रेस हुनुहुन्न। उहाँले कांग्रेससँगका सबै नाता तोड्नु पर्छ,’ पौडेलले भने, ‘कांग्रेसलाई राम्रो हुन उहाँले सम्पूर्ण मर्यादा ख्याल गरेर काम गर्नुपर्छ। देशको अभिभावक हुनुपर्छ।’

कांग्रेसले आफ्नो पक्षमा काम गराउन पौडेललाई राष्ट्रपति बनाउन नखोजेको उनको प्रष्टोक्ति थियो।  

‘कांग्रेसको मान्छे राष्ट्रपति भएपछि हाम्रो मनोबल बढ्छ, त्यो एउटा विषय हो। तर, हाम्रो पक्षमा काम हुन्छ भनेर हामीले उहाँलाई राष्ट्रपति बनाउन खोजेको होइन,’ पौडेलले भने, ‘यो देशको लोतन्त्र सुदृढ हुन्छ, देशको अभिभावक उहाँ बन्नुहुनेछ। संविधानलाई पूर्णरुपमा पालना गर्नुहुनेछ। राजाको जस्तो व्यवहार उहाँले गर्नु हुने छैन भनेर हामीले उहाँलाई राष्ट्रपति बनाउन खोजेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad