राजनीति


कांग्रेससहित ८ दलको बैठकपछि विश्वप्रकाशले भने– पिँजडा अन्ततः भत्किने भयो

कांग्रेससहित ८ दलको बैठकपछि विश्वप्रकाशले भने– पिँजडा अन्ततः भत्किने भयो

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार २०:१३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्ता गठबन्धन भत्किएको संकेत गरेका छन्। 

आज प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा कांग्रेससहित ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेलगत्तै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री शर्माले वर्तमान सत्ता गठबन्धन टुट्ने निश्चित भएको बताएका हुन्।

‘पिँजडा अन्ततः भत्किने भयो’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय।’

राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन शुक्रबार ८ दलको बैठक बसेको हो। छलफलमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षसहितका नेताहरु सहभागी थिए।

बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने सहभागी भएनन्।

आठ दलको बैठकपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा अडान नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पाँचदलीय गठबन्धन तोड्दै एमालेलगायत सात दलको नयाँ समीकरण बनाएर प्रधानमन्त्री बनेका थिए। तर अहिले फेरि राष्ट्रपति पदमा एमालेले आफ्नो अडान नछाडेपछि यो गठबन्धन भत्किएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .