‘यहाँ राष्ट्रपति चाहिएको होइन, रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ,’ ३ फागुनमा प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भनेका थिए, ‘आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं।’
एमाले अध्यक्षले केपी शर्मा ओलीले कांग्रेसले ‘ढोक्सा थापेको’ आरोप लगाएपछि पौडेलले त्यसको जवाफ दिएका थिए।
तर, अहिले आएर कांग्रेसले ‘ढोक्सा’मा राष्ट्रपति मात्र पारेको छैन, ६२ दिनअघि छिन्नभिन्न भएको गठबन्धन समेत ब्युँताउन सफल भएको छ।
जबकि, माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिँदा कांग्रेससहितको पाँच दलीय गठबन्धन भत्किएको थियो। लगत्तै एमालेसहित ७ दलीय गठबन्धन बनेको थियो। आफ्नो भागमा परेको सत्ता गुमेपछि एमालेसहित बनेको नयाँ गठबन्धन भत्काउन कांग्रेसले जोर लगाइरह्यो।
२० पुसपछि लगातार कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार धाइरहे। प्रधानमन्त्री प्रचण्डसँग भेट गरिरहे। माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेतासँग पनि निरन्तर संवादमा रहे।
२६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो। कांग्रेसले विश्वासको मत दिने सूचना पाएरै एमाले अध्यक्ष केपी शर्मा ओलीले २६ पुसको संसद् बैठकमा त्यसलाई ‘ढोक्सा’ संज्ञा दिएका थिए।
‘यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ। ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु, माछा नभएको खोलामा फालेजस्तै हुन्छ,’ उनले संसद् बैठकमा भने, ‘यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ, त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन।’
तर, ओलीले भनेजस्तो भएन। खोल्सी भएतिरै (कांग्रेस) राष्ट्रपति परेको छ। रोचक त अहिले चार दलीय गठबन्धन मात्र ब्युँतिएन, ८ दल एकै ठाउँ उभिएका छन्, जसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र रासपा पनि छ।
१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री नबनाएर सत्ता गुमाएको कांग्रेसले २६ पुसमा गल्ती सच्याएको थियो। त्यसयता माओवादी विरुद्ध कहीँकतै अभिव्यक्ति दिएन। प्रचण्डसँग बिग्रेको सम्बन्ध सुधारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला मात्र होइन, महामन्त्री गगन थापा समेत सक्रिय भए।
निरन्तरको त्यही संवादले कांग्रेस सत्तामा फर्केको छ।
निर्णायक यी ७२ घण्टा
बिहीबार दिनभर प्रधानमन्त्रीले नेकपा एकीकृत समाजवादी, जसपालगायत दलसँग संयुक्त रुपमा छलफल गरेका थिए।
बुधबार प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले भेट गरेका थिए। साँझ भने कांग्रेस सभापतिसहितका नेताहरु बालुवाटार पुगेर छलफल गरेका थिए।
त्यही एक्लाएक्लै र सामूहिक छलफलले सकारात्मक माहौल बनाएपछि शुक्रबार बिहान चार दल (कांग्रेस, माओवादी, रास्वपा, एकीकृत समाजवादी)बीच साढे ३ घण्टा वार्ता भयो। सैद्धान्तिक सहमति जुटाएर अघि बढ्ने समझदारी बनाएको सो छलफलपछि उनीहरु शुक्रबार बेलुका फेरि बैठकमा बसे।
दोस्रो चरणको बैठकमा भागबण्डा मिल्यो। यही ७२ घण्टाको दौडधुपले ४ मंसिरको चुनावअघिको चारदल र अन्य तीन दल एकै ठाउँ उभिने अवस्था बनाएको छ ।
‘हामी ८ वटै दलले काङ्ग्रेसले उठाउने उम्मेदवारलाई राष्ट्रपति जिताउने समझदारी बनाएका छौँ,’ नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता श्रेष्ठले नेपालखबरसँग भनिन, ‘आजदेखि ८ दल एकै ठाउँमा उभिएका छौँ।’
अब राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हुने सम्भावना बढेको छ। यद्यपि काङ्ग्रेसको भोलि शनिबार १३ फागुनमा राखिएको कार्यसम्पादन समिति बैठकले उम्मेदवार तय गर्नेछ।
प्रतिक्रिया