राजनीति


कारबाही अघि बढाएपछि एमाले छाडेको दुर्गा प्रसाईको घोषणा

कारबाही अघि बढाएपछि एमाले छाडेको दुर्गा प्रसाईको घोषणा

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०७९ आइतबार १७:३८, काठमाडौँ

उद्योग विभाग उपप्रमुखसमेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नेकपा एमाले छाडेको घोषणा गरेका छन्।

झापाको काकडभिट्टामा केही दिनअघि पूर्वराज परिवारलाई भेला गरेर एक धार्मिक अभियान सुरु गरेपछि प्रसाईमाथि एमाले प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो।

उनले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए। 

'सर्वप्रथम म एमाले पार्टी छाडेर जनतामाझ आएको छु', उनले भने, 'कार्यकर्ताको नेता होइन जनताको मनमा बस्न चाहन्छु। अब एमाले छाडेर आइसकेको छु। तपाईंहरुमाझ हुनेछु।'

उनले एमालेले कारबाही अघि बढाएपछि अध्यक्ष केपी शर्मा ओलीको पनि चर्को आलोचना गरेका छन्। 

'केपी ओलीको राष्ट्रवाद खोक्रो हो। चुनावका बेला राष्ट्रियता भनेर लिपुलेक-कालापानीको नाम लिन्छन्', उनले भने, 'तर अरु बेला भुल्छन्।'

उनले आफूमाथि कारबाही हुने भएपछि काठमाडौंमा भेटेर ओलीलाई केन्द्रीय सदस्य तपाईं नै राख्नु भनेर हिँडेको पनि बताए। 

'मलाई हिजो कारबाही गर्दै गर्दा मैले भनेँ, 'हजुरबुवा तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् मलाई चाहिँदैन', उनले भनेका छन्, 'म कार्यकर्ताको मनमा होइन जनताको मनमा बस्ने मान्छे हो। म त्यही अनुसार काम गर्न एमाले छाडेर आएको हुँ।'

उनले अब २०४७ सालमा फर्किनुपर्ने बताए। 'जहाँ बाटो बिर्सियो त्यहीँ फर्किएर जानुपर्छ', उनले भने, 'मैले केही दिनअघि चिया बगानमा राजालाई पनि राखेँ। हिजो बेलुका उहाँले एउटा विज्ञप्ति जारी गर्नु भयो', उनले भने, 'जनताका लागि म कारबाही भोग्न तयार भएको छु। अब जनता र राजा एक हुनु पर्छ।'

उनले एमालेतिर लक्षित गर्दै कारबाही गर्नुअघि स्पष्टीकरण समेत नसोधिएको गुनासो गरे। 'हिजो कारबाही हुनुपर्छ भनेछन्, स्पष्टीकरण पनि सोधेनन्', उनले भने, 'मेरा भूतपूर्व अध्यक्ष केपी शर्मा ओलीलाई हिजो बेलुका भनेँ, मैले एउटा दीप बाल्दा यत्रो आतंक! यो अभियानमा लाग्दा कारबाही भोग्नुपर्यो, तपाईंको केन्द्रीय सदस्य राख्नुस्।'

प्रसाईले आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने पनि बताए। उनले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad