ad ad

राजनीति


जनयुद्ध दिवसमा सार्वजनिक बिदा : कांग्रेसका ४ नेताको तीव्र असन्तुष्टि

जनयुद्ध दिवसमा सार्वजनिक बिदा : कांग्रेसका ४ नेताको तीव्र असन्तुष्टि

नेपालखबर
फागुन १, २०७९ सोमबार १०:४५, काठमाडौँ

सरकारले जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट देखिएका छन्।

तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिनमा सरकारले सार्वजनिक विदा दिएपछि कांग्रेसको इतर समूहका नेताहरू आलोचनामा उत्रिएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका रूपमा आज (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

२०५२ फागुन १ गते सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको हो।

सरकारले सार्वजनिक बिदा दिएपछि कांग्रेसको इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै नेतात्रय डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र गुरु घिमिरेले सरकारको आलोचना गरेका छन्। 

‘एकातिर स्वयम् प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोइरालाले ट्विटरमा प्रश्न गरेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेकोरु देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’

कांग्रेस नेता रिजालले सरकारले जनयुद्ध दिवसका अवसरमा दिएको बिदा बारे कांग्रेसको आधिकारिक धारणा मागेका छन्।

उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महतलाई पार्टीको आधिकारिक धारणा मागेका हुन्।

‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित जनयुद्ध दिवसबारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।,’ नेता रिजालले फेसबुकमा लेखेका छन्। 

यस्तै, नेता भण्डारीले सरकारले दिएको बिदालाई नागरिकले अपनत्व गर्नै नसक्ने जिकिर गरेका छन्। उनले दिवसलाई द्वन्द्वपीडितहरुसँग जोडेको भए बिदाको औचित्य रहने पनि उल्लेख गरेका छन्। 

‘नागरिकले अपनत्व गर्न नसक्ने सरकारी बिदा। दिवसलाई द्वन्द्वपीडितहरुसँग जोडेको भए बिदा औचित्यपूर्ण हुन्थ्यो होला,’ भण्डारीले ट्विटरमा लेखेका छन्, ‘तत्कालीन युद्धमा एकले अर्कोलाई पुर्याएको क्षतिप्रति माफ मागेर, एक अर्काको गल्ती महसुस गरेर दिवस मनाउँदा बल्ल सान्दर्भिक हुन्थ्यो होला।’ 

कांग्रेसका युवा नेता घिमिरेले मुलुकको आर्थिक अवस्था स्मरण गर्दै दिनरात नभनी काम गर्नु पर्ने समयमा सार्वजनिक बिदा बढाउनु गलत भएको टिप्पणी गरेका छन्। ‘देश टाट पल्टिनमात्र बाँकी छ। दिनरात नभनी काम गर्ने बेलामा सार्वजनिक बिदा बढाउनु गलत हो,’ उनले ट्विट गरेका छन्। 

घिमिरेले राजनीतिक दलका सबै दिवसहरु राष्ट्रिय दिवस नहुने पनि उल्लेख गरेका छन्।

‘राजनीतिक दलका सबै दिवसहरु राष्ट्रिय दिवस हुदैनन्,’ उनले लेखेका छन्, ‘माओवादी विद्रोह सुरु भएको फागुन १ लाई सार्वजनिक बिदा दिने हो भने कार्तिक २१ नेकाले २००७ सालको क्रान्ति सुरु गरेको दिन हो। अरु दलका पनि यस्ता दिन हुन सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .